• ११ असोज २०८१, शुक्रबार

किसानलाई १२ लाख प्रोत्साहन रकम प्रदान

blog

राप्ती गाउँपालिका निवासी दुध उत्पादक किसान ।

लीलाधर वली

घोराही, असोज ८ गते । दाङको राप्ती गाउँपालिकाले दुध उत्पादक किसानलाई १२ लाख बढी प्रोत्साहन स्वरूप रकम प्रदान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा एक सय ५१ जना किसानलाई १२ लाख २९ हजार रुपियाँ प्रदान गरेको हो ।

गाउँपालिकाले प्रतिलिटर चार रुपियाँका दरले तीन लाख पाँच हजार लिटर दुधमा प्रोत्साहन रकम प्रदान गरेको राप्ती गाउँपालिकाका पशु तथा मत्स्य विकास शाखाका अधिकृत दामोदर आचार्यले जानकारी दिनुभएको छ । शाखा अधिकृत आचार्यका अनुसार पालिकामा रहेका १२ वटा निजी डेरी र १२ वटा व्यावसायिक फर्ममार्फत किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको हो ।

पालिकाले दुध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले दुई वर्षदेखि किसानलाई अनुदान दिन थालेको छ । प्रोत्साहन रकम प्रदान गर्नका लागि पालिकाले कार्यविधि बनाएको छ । रकम प्रदान गर्नका लागि पालिकाले अनुगमन गरेर वास्तविक कृषक पहिचान गरेपछि मात्रै रकम दिने गरेको शाखा अधिकृत आचार्य बताउनुहुन्छ । स्थानीय तहबाट दुध उत्पादक किसानलाई प्रोत्साहन रकम प्रदान गर्ने राप्ती गाउँपालिका पहिलो हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा प्रति लिटर २ रुपियाँ प्रदान गर्ने गरिएको थियो । उक्त कार्यबाट किसान प्रभावित हुने देखिएपछि प्रोत्साहन रकम बढाइएको भन्दै शाखा अधिकृत आचार्य भन्नुहुन्छ, "किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रकम वृद्धि गरिएको हो । वास्तविक किसानलाई सहयोग पुगेको छ ।" पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई आकर्षित गर्ने उद्देश्यले अनुदान दिन थालेको गाउँपालिकाले जनाएको छ ।

व्यक्तिगत रूपमा लगेर होटेल तथा घरमा दुध बिक्री गर्नेहरूले यस प्रकारको प्रोत्साहन रकम पाउन सकेका छैनन् । राप्ती गाउँपालिका दुधमा आत्मनिर्भर रहेको भन्दै शाखा अधिकृत आचार्यले पालिकामा किसानले उत्पादन गरेको दुध लमही, घोराहीसँगै प्युठानसम्म जाने गरेको बताउनुहुन्छ ।

पालिकाले गरेको नमुना सर्वेक्षणमा करिब वार्षिक ३० लाख लिटर दुध उत्पादन हुने गरेको छ । पालिकाले दुध, दहीको खपत बढाउनका लागि पालिकामा चिसो पेय पदार्थमा प्रतिबन्ध लगाएर दही, मोहीलाई प्रयोगमा ल्याएको छ । यसले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुको साथै किसानलाई बिक्री गर्न सहजता पुगेको किसान चन्द्रलाल चौधरी बताउनहुन्छ ।

पालिकाको अनुदानले आफू जस्ता दुध उत्पादक किसानलाई प्रोत्साहन मिलेको भन्दै किसान चौधरीले भन्नुभयो, "दुःख गरेर दुध, दही बिक्री गर्दा पैसा आउने गरेको थियो । त्यसैमा उत्पादनका आधारमा पालिकाले समेत पैसा दिँदा थप हौसल्ला बढाएको छ ।" यसले गर्दा १-२ वटा गाईभैँसी पाल्ने किसानलाई थप गाईभैँसी बढाउनका लागि सहयोग पुगेको बताउनुभएको छ ।