• २५ पुस २०८१, बिहिबार

सङ्ख्या वृद्धिसँगै गोही बस्ती पस्दै

blog

घोडाघोडी तालनजिकै फेला परेको वयस्क मगर गोही ।

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), असोज ८ गते । विश्व रामसारमा सूचीकृत कैलालीको घोडाघोडी तालमा सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि आहाराका लागि बाहिरिन थालेका छन् । 

शुक्रबार बिहान पूर्वी ओजुवाबाट वयस्क मगर गोही कुलोमा निस्केर नजिकैको बस्ती पस्न थालेपछि स्थानीयले वन कर्मचारीलाई खबर गरेका थिए । वन कर्मचारी र स्थानीयको सक्रियतामा तालबाट बाहिर निस्केको वयस्क गोहीलाई उद्धार गरी घोडाघोडी तालमा छोडिएको छ ।

पहलमानपुर डिभिजन वन कार्यालयका वन अधिकृत विश्वराज पण्डितले करिब ६० देखि ७० किलो तौल भएको पाँच फिट लामो वयस्क गोहीलाई नियन्त्रणमा लिई तालमा छोडिएको बताउनुभयो । उहाँले गोहीको सङ्ख्या बढ्दै गएपछि आहार र प्रजननका लागि बाहिर निस्केको हुन सक्ने बताउनुभयो ।

घोडाघोडी सिमसार क्षेत्रमा ठुलासाना गरेर २४ वटा प्राकृतिक ताल रहेका छन् । ती तालमध्ये सबैभन्दा ठुलो घोडाघोडी तालमा दुई ठाउँमा मगर गोहीका लागि प्रजनन केन्द्र बनाइएको छ । गोहीको सङ्ख्या बढ्दै गएपछि घोडाघोडी सिमसार क्षेत्रमा रहेका अन्य तालमा समेत गोहीको वासस्थान बन्ने गरेको र  त्यहाँबाट गोही बाहिर निस्किने गरेको स्थानीय बताउँछन्  ।

घोडाघोडी नगरपालिकाले पुरिएर चौरमा परिणत भएको ओजुवा ताल केही वर्ष पहिले ताल पुनर्निर्माण गरेपछि डुङ्गा सञ्चालनका लागि ठेक्कामा दिएको थियो । तालमा मगर गोही देखिन थालेपछि डुङ्गा सञ्चालन बन्द गरिएको छ । 

ओजुवा तालमा रिसोर्ट सञ्चालन तथा डुङ्गा सञ्चालनको जिम्मेवारी पाएका पर्यटन व्यवसायी डबल शाहले ओजुवा तालमा गोही देखिएपछि डुङ्गा चलाउन बन्द गरिएको बताउनुभयो । उहाँले दुई वटा गोही निकाली ठुलो तालमा पठाए पनि मानिसको डर नहटेपछि ताल नै सुकाउनु परेको बताउनुभयो । अहिले सो तालमा पुनः पानी जम्मा गरेर माछापालनसमेत गरिएको छ । संरक्षणकर्मी हिरूलाल डङ्गौराले एउटा वयस्क मगर गोहीले ३० देखि ३५ वटासम्म अन्डा दिने जनाउँदै घोडाघोडीमा गोहीका बच्चाको सङ्ख्या पनि बढ्दै गएको उल्लेख गर्नुभयो ।

गर्मी मौसममा मगर गोहीले अन्डा पार्ने र बच्चा कोरल्न सुरक्षित बालुवा भएको ठाउँ खोज्ने भएकाले सो स्थानको खोजीमा गोही खेतबारी तथा नदीमा समेत पुग्ने गर्दछन् । संरक्षणकर्मी रामकुमार चौधरीले घोडाघोडी तालका मगर गोही केही तालमा व्यवस्था गरिएको प्रजनन केन्द्रमा अन्डा पार्ने भए पनि कतिपय नजिकका डोडा, कौवा नदीमा समेत अन्डा पार्न जान सक्ने बताउनुभयो । ताल बाहिर गई अन्डा दिने गर्नाले  मगर गोहीका बच्चाहरू खेतबारी, कुलोमा समेत भेटिने गरिएका छन् ।

विगतमा विभिन्न खेतबारी, कुलोलगायतका ठाउँबाट उद्धार गरेर गोहीका बच्चा घोडाघोडी तालमा छोड्ने गरिएको छ । एक दशक पहिले घोडाघोडी तालमा नुहाउने क्रममा स्थानीय एक बालकलाई मगर गोहीले आक्रमण गर्दा मृत्यु भएको थियो । त्यो घटनापछि स्थानीय घोडाघोडी ताल क्षेत्र वरपर गोही देख्नासाथ सतर्क भएर सम्बन्धित निकायलाई खबर गर्ने गरेको स्थानीय सपना ढकालले बताउनुभयो ।