• ११ असोज २०८१, शुक्रबार

बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकको अभाव

blog

काठमाडौँ, असोज ७ गते । नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरूको अभाव रहेको पाइएको छ ।

बालबालिकामा हुने क्यान्सर रोगीहरूको सङ्ख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरू भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताउनुभएको हो । कान्ति बाल अस्पतालमा कार्यरत उहाँले बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरूको नै अभाव रहेको बताउनुभयो । 

उहाँले कान्ति बाल अस्पतालमा पनि आफूसहित दुई जना चिकित्सकको भरमा उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो । चिकित्सक सिपाईंले सरकारले क्यान्सर अस्पतालहरूको स्तरोन्नति गरेर यसको जाँचका लागि बाहिरको भर पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले चिकित्सकहरूको पर्याप्तता छैन । किनभने निश्चित रूपमा धेरैजसो जति पनि सेवा दिइरहेका छन् । यी केन्दहरुमा नै छन् । केन्द्रहरूबाट सेवा दिन पनि सबै ठाउँमा पर्याप्त छैनन् । कान्तिको हकमा म र अर्का एक जना चिकित्सक हुनुहुन्छ भने अन्य सेवाहरूमा एक जना वा दुई जना हुनुहुन्छ । जसले गर्दा ती सेवा केन्द्रहरूमा सेवा गर्न पनि केही कठिनाइहरू छन् भने नेपालमा काठमाडौँ बाहिर ती सेवा पुर्‍याउनका लागि अझै पनि पर्याप्त जनशक्तिको अभाव नै छ, जस्तो लाग्छ । सरकारले सेवा दिइरहेका अस्पतालहरूमा स्तरोन्नति गर्नुपर्‍यो । जाँच गर्नका लागि जुन बाहिर पठाउनुपर्ने अवस्था छ, त्यो नेपालमा नै गर्न सकियोस् ।’

बालबालिकामा धेरैजसो ब्लड क्यान्सर देखिएको विभिन्न अध्ययनहरूले देखाएको छ । करिब ६० प्रतिशत भन्दा बढी बालबालिकाहरूमा ब्लड क्यान्सर देखिएको चिकित्सक सिपाईंको भनाई छ । उहाँले त्यसैगरी उनीहरूको बेर्ने ट्युमर, आँखा, नसा र मिर्गौलामा हुने क्यान्सर पनि क्रमशः देखिएको उपचारको क्रममा पाइएको पनि बताउनुभयो । 

चिकित्सक सिपाईले भन्नुभयो, ‘बालबालिकामा धेरैजसो ब्लड क्यान्सर देखिने गरेको पाइएको छ । ६०/६५ प्रतिशत जति पनि क्यान्सर छ, त्यो बालबालिकामा हुने रगतको नै क्यान्सर हो । त्यसपछि ब्रेन ट्युमर, अरू अङ्गहरूमा आँखामा हुने, नशामा हुने, मिर्गौलामा हुने क्यान्सरहरू क्रमशः देखिँदै आएका छन् ।’

नेपालमा वार्षिक करिब १५ सयसम्म बालिबालिकाहरुमा क्यान्सर देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा सो रोगका लागि उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । कान्ति बाल अस्पतालमा मात्रै सो रोग लागेका बालबालिकाहरू वार्षिक रूपमा करिब एक सय ६० देखि दुई सयसम्म आउने गरेको अस्पतालले जनाएको छ । 

चिकित्सक सिपाईं भन्नुभयो, ‘नेपाल वार्षिक सरदर हजारदेखि १५ सय जति बालबालिकाहरूमा क्यान्सर रोग देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा हामीले हाम्रो कार्यक्रमहरूलाई अगाडि बढाइराखेका छौँ । र कान्तिको नै हेर्ने हो भने पनि वार्षिक एक सय ६० देखि दुई सयसम्म रहने गरेको छ । 

त्यस्तै अन्य अस्पतालहरू, जसले त्यो सेवा दिइरहेका छन् । त्यस हिसाबले पनि त्यो प्रक्षेपण गरेर हामीले वार्षिक करिब १५ सय जति हुन सक्छ भनेर अनुमान गरिरहेका छौँ ।’

चिकित्सकहरूले सो रोगको उपचारका लागि नेपालमा करिब आठ लाख रुपियाँसम्म खर्च हुने जानकारी गराएका छन् । चिकित्सक सिपाईंका अनुसार परीक्षणको लागि खासगरी भारत पठाउनुपर्ने भएकाले उपचार खर्च बढ्न सक्नेछ ।