• ११ असोज २०८१, शुक्रबार

जनगणना तथ्यपरक बनाउन सरकारलाई सांसदको सुझाव

blog

सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक ।

काठमाडौँ, असोज ७ गते । सांसदहरुले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका सांसद जावेदा खातुन जागा, नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

कांग्रेस सांसद खातुनले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सरकार गम्भीर नबन्दा धेरै नागरिकहरुले आफ्नो उपस्थिति राज्यमा देखाउन सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले मुस्लिम समुदायको समेत गणना तथ्यपरक नभएको जिकीर गर्दै त्यसतर्फ सरकारलाई ध्यान दिन पनि आग्रह गर्नुभयो । जनगणना तथ्यपरक नहुँदा पछाडि परेका विभिन्न जाति र समुदायका नागरिकहरुले राज्यले दिने अवसरबाट समेत वञ्चित हुनुपरेको सांसद खातुनको भनाइ थियो ।

‘‘यस्तो समुदायहरु छन् जो राज्यको मुल प्रवाहीकरणमा आउँन सकिरहेका छैनन् । उनीहरुको तथ्याङ्क ल्याउनुपर्‍यो । उनीहरुको जनगणना छुटाउनु हुन्न । यौनिक अल्पसङ्ख्यक जन समुदाय अझै पनि लुकेर बसेको अवस्था छ । उनीहरुले राज्यको कुनैपनि सेवा सुविधा पाइराखेको अवस्था छैन,’’ सांसद खातुनले भन्नुभयो, ‘‘उनीहरुलाई न कुनै जातीय सूचिमा गाभिएको छ । न तथ्याङ्क कार्यालयले उहाँहरुलाई समेटेको अवस्था छ । मुस्लिम समुदायको यकिन तथ्याङ्क आएको छैन । यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्दछ ।’’

एमालेका सांसद रिजालले विपदमा परेका बस्तीहरुको तथ्याङ्क ल्याउन सरकारलाई दबाब दिनुभयो । उहाँले जलवायु परिवर्तनका कारण बस्तीमा जोखिममा पर्ने गरेकाले उनीहरुको सुरक्षाका लागि पनि सरकारले ती ठाउँहरुको गणना गर्न ढिलाई गर्न नहुने बताउनुभयो । सांसद रिजालले नागरिकको पहिचान गर्ने र उनीहरुको आवश्यकतालाई सम्बोधन गर्ने नीति, कार्यक्रम र बजेट तय गर्न पनि जनगणनालाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कति ठाउँ असुरक्षित बस्ती छ पहाड र हिमालहरुमा ? मान्छेलाई बस्न रहर हुँदाहुँदै उसले आफ्नो गाउँ छाड्नुपरेको छ । अर्कोको गाउँमा गएर बस्नुपर्ने अवस्था छ । पहाड छोड्यो, शहर आयो । सहर पनि बस्न नसक्ने भएपछि विदेशतिर जानुपर्ने अवस्था छ । यस्तो खालको अवस्थामा अलि बढि ध्यान दिनुपर्‍यो ।’’

सांसद रिजालले विभिन्न सीप, कला जानेहरुलाई पनि साक्षरता भनेर दर्ज गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।