• ११ असोज २०८१, शुक्रबार

मध्यभोटेकोशी आयोजना एक महिनाभित्र सञ्चालन हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारणलाइन निर्माणमा स्थानीयको अवरोध र मुख्य सुरुङमा देखिएको प्राविधिक त्रुटि समाधान भएकाले आयोजनाबाट चाँडै नै विद्युत् उत्पादन हुने जनाइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्थानीय सरोकारवाला नेतृत्व र आयोजनाबिच गत भदौ १३ मा भएको छलफलमा प्रसारण लाइन निर्माणमा सहमति जुटेपछि काम अगाडि बढेको हो ।  

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ मा आयोजनाको विद्युत् गृह छ । प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको छ । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैँअगाडि सम्पन्न हुने प्राधिकरणले जनाएको छ । 

अहिले बाँध क्षेत्रको निर्माण सकी पानी हालेर परीक्षणसमेत भइसकेको छ । गत फागुनमा आयोजनाको ७.१२४ लामो सुरुङमा पानी भरेर परीक्षण गर्दा करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएको थियो । यसको पनि मर्मत र सुधार सम्पन्न गरिएको छ । हाल सुरुङ सफा गर्न सुरु गरिएको र १५ दिनपछि सुरुङमा पानी भर्न थालिने आयोजनाले जनाएको छ ।  

विद्युत्गृहमा सिभिल निर्माण सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवं परीक्षण (ड्राई टेस्ट) सम्पन्न भइरहेको छ । सुरुङबाट पानी आउनसाथ उपकरणको वेट टेस्ट सुरु हुने छ । 

बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

शनिबार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले आयोजना निर्माणस्थल निरीक्षण गरेको थियो । राज्यमन्त्री तामाङले बाँकी रहेका काम द्रुत अगाडि बढाउन आयोजना व्यवस्थापनका सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभयो । 

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि  सोही विद्युत् प्रयोग गरी प्राधिकरणले निर्माण गरेको २२०/१३२ केभीका बाह्रबिसे सबस्टेसनलाई चार्ज गर्ने छ । त्यहीँबाट विद्युत् प्रवाह हुने छ ।

यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले गरिरहेको छ । सोही प्रसारण लाइनबाट मध्यभोटेकोशीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ ।