• ११ असोज २०८१, शुक्रबार

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ७ गते । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर अपराध ब्युरोले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनको कसुरमा आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नबिन्द अर्यालले जानकारी दिनुभयो । 

प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ब्युरोलाई अनुमति दिएको छ । प्रसाईंविरुद्ध एक महिलाले आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा लिखित उजुरी दर्ता गराएको पनि अर्यालले जानकारी दिनुभयो ।   

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा विभिन्न गतिविधि गर्दै आउनुभएका प्रसाईंले सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिमाथि मिथ्या अरोप लगाउँदै आपत्तिजनक अभिव्यक्ति दिएको भनी उजुरी परेका छन् । 

साइबर अपराधको कसुरमा ब्युरोले प्रसाईंसहित युट्युब सञ्चालक बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट गत बुधबार पक्राउ अनुमति लिएको थियो । 

पक्राउ पुर्जीसहित निवासमा पुगेको प्रहरीलाई प्रसाईंले घरभित्र प्रवेश गर्न नदिई आफू बाहिर निस्कन इन्कार गरेपछि प्रहरीले पर्खाल नाघेर घरभित्र प्रवेश गरी प्रसाईंलाई नियन्त्रणमा लिएको जनाएको छ ।

   

यो पनि पढ्नुहोस

व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ