• ११ असोज २०८१, शुक्रबार

गृहमन्त्रीको निर्देशन लगत्तै गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी पक्राउ

blog

छविलाल जोशी । फाइल तस्बिर

काठमाडौँ, असोज ६ गते।  गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वनका लागि प्रहरीलाई निर्देशन दिए लगत्तै आरोपित पक्राउ पर्न थालेका छन्।  

प्रहरीले आइतबार गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई नियन्त्रणमा लिएको छ।  

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्न भएको देखिएको भन्दै प्रतिवेदनमा कारबाहीका लागि सिफारिस जोशीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौँबाट पक्राउ गरेको हो।  

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जोशीमाथि अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको जानकारी दिनुभयो।  

गत बिहीबारको मन्त्रिपरिषद् निर्णय अनुसार आइतबार गृहमन्त्री लेखकले छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो।  

समितिले तयार पारेको प्रतिवेदनमा गोर्खा मिडिया नेटर्वकका तत्कालीन अध्यक्ष जितेन्द्र बहादुर (जिबी) राई,  प्रबन्ध निर्देशक पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र सञ्चालक जोशीलगायतलाई कारबाहीको लागि सिफारिस गरेको छ।   

यसैबीच, सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा लगिएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आइतबार नै पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताउनुभयो । निजलाई सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।