• १२ असोज २०८१, शनिबार

गोल्डकप ट्रफी सार्वजनिक

blog

गोल्डकप ट्रफी सार्वजनिक गरिँदै । तस्बिर : गोरखापत्र

हरि कोइराला 

उर्लाबारी ,असोज ६ गते । बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरपने अढाई किलो चाँदीमा दुई तोला सुन जडित गोल्डकप ट्रफी सार्वजनिक गरिएको छ । 

गोल्डकपको मूल्य झण्डै आठ लाख रुपियाँ परेको छ । आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको सभाहलमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी क्लबले गोल्डकप सार्वजनिक गरेको हो ।  

बेलबारी-११ निवासी चलचित्र निर्माता पोपिराज राई र ज्योतिराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा गोल्डकप सौजन्य गर्नुभएको हो । राईले पत्रकार सम्मेलनकै अवसरमा गोल्डकप बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईलाई हस्तान्तरण गर्नुभयो । 

गोल्डकप असोज ११ देखि १९ गतेसम्म बेलबारी ११ को लक्ष्मी खेल मैदानमा हुँदैछ । सातौँ संस्करण देखि प्रतियोगिता लगातार तीन पटक जित्ने टिमले गोल्डकप पचाउनेछन् ।  

पहिलोपटक १० टिमले सहभागिता जनाउने प्रतियोगितामा नेपाल पुलिस क्लब, बुटवल लुम्बिनी फुटबल क्लब,भारतको दलसिंहपारा फुटबल क्लब,विग्रेड ब्वाइज र आयोजक एलएक्ससिटी फुटबल क्लबले पोल ‘बी’ बाट प्रतिस्पर्धा गर्नेछन् । 

यस्तै पोल ‘ए’ बाट चित्लाङ फुटबल क्लब काठमाडौँ, रारा फुटबल क्लब धनकुटा, सहलेस फुटबल क्लब सिराहा, भोजपुर जिल्ला फुटबल सङ्घ र झापा–११ ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले आठ लाख रुपियाँ  र गोल्डकप प्राप्त गर्नेछन् । उपविजेताले चार लाख रुपियाँ र ट्रफी प्राप्त गर्नेछन् । 

खेल आयोजना गर्न ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।  प्रस्तावित रङ्गशालामा ३५ सय दर्शक अटाउने अस्थायी प्याराफिट निर्माण भइसकेको क्लबका उपाध्यक्ष ज्ञानुराज राईले बताउनुभयो ।