• १२ असोज २०८१, शनिबार

पाँच विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण

blog

भैलेपाटा आधारभूत विद्यालय लेकपोरमा निर्माण भएको आधुनिक अपाङ्गतामैत्रि भवन । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, असोज ६ गते । जुम्लाको दुर्गम बस्तीका ५ वटा विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण गरिएकाे छ । जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा ५ वटा आधुनिक भवन निर्माण कार्यसम्पन्न भई हस्तान्तरण समेत गरिएको हो । 

जिल्लाको हिमा गाउँपालिका भैरव आधारभूत विद्यालय जोडिबाडा, महादेव आधारभूत विद्यालय तलिउकुडु, सिंजा गाउँपालिकाको आधारभूत विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिका आधारभूत विद्यालय गोरुचौर, कनकासुन्दरी गाउँपालिका आधारभूत विद्यालय भैलेपाटा सहित ५ वटा विद्यालयमा आधुनिक पक्कि भवन निर्माण सम्पन्न भएका छन्।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी पाँच वटै भवनहरुको उद्घाटन गर्नुभएको छ । चार वटा विद्यालयमा भौतिक संरचनाको अभाव भोगिरहेका ती स्थानमा ४ कोठाको अपांगताता मैत्री, वालमैत्री भवन, कक्षा १,२ र ३ ईसिडि कक्षा, महिला शौचालय, पुरुष शौचालय, वालमैत्री हातधुने स्थान सहितका भवन तथा भैलेपाटा आधारभूत विद्यालयमा अपांगतामैत्री बालमैत्री भवन निर्माण भएका छन् ।  

स्थानीय सरकारको साझेदारीमा नवनिर्मित भवन स्थानीय तहलाई हस्तातरण समेत गरिएको छ । साझेदार संस्था प्लान नेपालको सहयोगमा साझेदारी सहयोग केन्द्रबाट निर्माण भएका भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुलीका अनुसार पाँच वटा भवन निर्माणमा रु तीन करोड ४९ लाख ५४ हजार ५३ रुपियाँ खर्च भएको छ । जसमा स्थानीय सरकारको रु १३ लाख र रु ३ करोड ३६ लाख ५४ हजार ५३ रुपियाँ प्लान नेपालको लागत रहेको छ । 

एक कार्यक्रमकाबिच नवनिर्मित भवनको संरचना, लागत सहितका वृस्तृत पुस्तिका सहित भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयमा गुणस्तरीय भवन निर्माण गर्ने सहयोगी निकाय सहित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सिंजा सभ्यता नेपालीको इतिहास बोकेको क्षेत्र भएकाले यहाँको विकासमा सवैको सहयोग आवश्यक छ । उहाँले गुणस्तर भवन निर्माण भएकाले यसको भरपुर प्रयोग गरि शिक्षामा टेवा पुयाउन अनुरोध गर्नुभयो । 

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले शिक्षा क्षेत्रमा लगानी भनेको सवैभन्दा उत्तम हुने भएकाले गुणस्तरीय भवन निर्माणमा सहयोग गर्ने साझेदार निकाय सहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले विद्यालयमा गुणस्तरीय भवन निर्माण गर्न सघाउने साझेदार निकायलाई नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्तै संरचना भएमा विद्यालयमा गुणस्तरीय शिक्षामा जोड हुने बताउनुभयो । कनकासुन्दरी गाउँपालिका जुम्लाका अध्यक्ष दामोदर आचार्यले शिक्षामा लगानी गर्ने सरकारको लक्ष्य अनुसार साझेदार निकायसँग सहकार्य गरेर निर्माण भएका भवन भरपुर प्रयोग हुनेमा जोड दिनुभयो । 

भैरव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमनाथ योगीले भत्केको जिर्ण कक्षा कोठामा विद्यालय सञ्चालन भइरहेको अवस्थामा अव नयाँ आधुनिक ४ कोठे भवन, ईसिडि र मैत्री शौचालय बन्दा निकै राहत हुने बताउनुभयो । उहाँका अनुसार यो कार्यका लागि सहयोग गर्ने गाउँपालिका, साझेदार संस्थालाई धन्यवाद ज्ञापन गर्दछु । उहाँका अनुसार भैरव आ.वि.मा विद्यालयको जग्गा ७ विगा १७ कट्टा जमिन रहेको छ । सो जग्गामा स्याउ पनि लगाइएको छ । 

हिमा गाउँपालिको भैरव आवि जोगिवाडामा भिजन निर्माण सेवाले भवन निर्माण गर्ने जिम्मा लिइएको थियो । भवन राम्रो बनाएको भन्दै विद्यालयले सो निर्माण सेवाका प्रोपाईटर राष्टु कठायतलाई सम्मान समेत गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्लान ईन्टरनेश्नल नेपालका प्रोगाम गुणस्तरीय एण्ड ईन्नोभेसन निर्देशक जुली गुरुङले अभाव भएको क्षेत्रमा काम गर्न पाउदा खुशी व्यक्त गर्नुभयो ।