• १२ असोज २०८१, शनिबार

रूपा चक्रपथ दोस्रो खण्डको शिलान्यास

blog

एमाले नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी रूपा चक्रपथ दोस्रो खण्डको शिलान्यास गर्दै ।

पोखरा समाचारदाता 

पोखरा, असोज ६ गते । कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठुलीबेँसी–देउपुरबेँसी–पोल्याङ सडक (रूपा चक्रपथ) को दोस्रो खण्डको शिलान्यास भएको छ । सङ्घ र गण्डकी प्रदेश सरकारको समपूरक बजेट अन्तर्गत योजना सुरु भएको हो । करिब ४७ करोड १८ लाख ९१ हजार रुपियाँ लागतमा १६.१२९ किलोमिटर दुरीको यो बाटो बन्ने जनाइएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले रूपा–१ र ७ मा पर्ने उक्त रिङरोडको दोस्रो खण्डको संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । 

शिलान्यास कार्यक्रममा पूर्वमुख्यमन्त्री अधिकारीले विकास गाउँ गाउँमा आए पनि बसाइँसराइको प्रभाव अधिक हुँदै जाँदा सरकारको लगानी प्रभावकारी हुँदैन कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । विकास पूर्वाधार, शिक्षा र स्वास्थ्य गाउँमा नै भएपछि बसाइँसराइको दर घटाउनुपर्ने बताउँदै रूपा चक्रपथ बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुने अधिकारीको भनाइ थियो ।

त्यसै गरी भौतिकमन्त्री केसीले समयमै काम सक्न र जनतालाई दुःख दिने काम नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कुनै समस्या भए प्रदेश सरकारले त्यसलाई समाधान गर्न सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री केसीले अहिले बेगनास तालबाट रामकोटसम्म आउने सडक स्तरोन्नतिका लागि सङ्घ र प्रदेश सरकारबाट विभिन्न खण्डमा काम भइरहेको अवस्थामा प्रदेशले काम गर्ने गरी छुट्याइएको खण्डमा बजेट अभाव हुन नदिने तथा सङ्घले काम गरिरहेको खण्डमा समेत समयमा नै काम सम्पन्न गराउन पहल गर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले चक्रपथको काम सकिएपछि लमजुङ, तनहुँ र कास्कीको आवागमन धेरै सहज हुने विश्वास व्यक्त गर्नुभयो । शिलान्यास कार्यक्रममा भौतिक मन्त्रालयका निमित्त सचिव रामकुमार श्रेष्ठ, गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठलगायतले समयमा नै निर्माण सम्पन्न हुनेमा विश्वास प्रकट गर्नुभयो ।

यो मोटर बाटो निर्माणको ठेक्का एमएस जिएनसिपिएल–बिबिआर कन्स्ट्रक्सन जेभी, हेटौँडाले पाएको छ । यसका लागि गत साउन १७ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माण कार्य २०८३ साल माघ १६ सम्म सक्नुपर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय कास्की प्रमुख सिडिई सोभियत खड्काले जानकारी दिनुभयो । चक्रपथको पहिलो खण्ड अन्तर्गत फैचोकदेखि पोल्याङसम्म १० किलोमिटर, रूपा परियोजना अन्तर्गत नौ किलोमिटर सडक बनिसकेको कार्यक्रममा जानकारी गराइएको थियो ।