• १२ असोज २०८१, शनिबार

यातायात विधेयकका सम्बन्धमा सुझाव सङ्कलन

blog

यातायात विधेयकका सम्बन्धमा मलङ्गवामा आयोजित छलफल । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, असोज६ गते । मधेश सरकारले सवारी तथा यातायात व्यवस्था विधेयकका सम्बन्धमा शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा सरोकारवालाको रायसुझाव सङ्कलन गरेको छ । 

यो विधेयक २०८० जेठ ३० गते बसेको प्रदेश सभामा दर्ता भएको थियो । विधेयकलाई अन्तिम रूप दिएर प्रदेश प्रमुखबाट प्रमाणीकरणका गर्नुअघि मन्त्रालयले शनिबार सरोकारवालालाई सहभागी गराई विधेयकमाथि छलफल गराएको हो । 

सवारी व्यवस्थापन, रुट व्यवस्थापन, नयाँ रुट कायम तथा ट्राफिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाबाट राय लिने काम गरिएको यातायात व्यवस्था कार्यालय मलङ्गवाका प्रमुख राकेश यादवले जानकारी दिनुभयो । प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यमा आयोजित छलफलमा सुरक्षा अधिकारी, जनप्रतिनिधि, नागरिक अगुवा, यातायात व्यवसायी र अन्य सरोकारवाला सहभागी भएर आआफ्नो राय प्रस्तुत गरेका थिए । 

मन्त्री रायले छलफलबाट प्राप्त रायसुझाव अनुसार विधेयक परिमार्जन गरी जतिसक्दो चाँडो प्रदेश प्रमुखबाट प्रमाणीकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारका मन्त्री रायले मधेश प्रदेशमा यातायात क्षेत्रमा तुलनात्मक रूपमा बढी विकृति देखिएको भन्दै त्यसको सुधारका लागि प्रदेश सरकारले निरन्तर अनुगमन र निगरानी गरिरहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई सहज र सरल बनाउने काममा प्रदेश सरकार लागिपरेको जिकिर गर्नुभयो ।