• १२ असोज २०८१, शनिबार

रैथाने स्वाद चखाउन बाली संरक्षण

blog

अमरराज नहर्की 

तनहुँ, असोज ६  गते । तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आउने पर्यटकलाई रैथाने स्वाद चखाउन स्थानीय बाली संरक्षण थालनी गरिएको छ । बन्दीपुर गाउँपालिकाले रैथाने बाली प्रवर्धन कार्यक्रम सञ्चालन गरी संरक्षण अघि बढाइएको हो । गाउँपालिकाले तोरी, कोदो, मुसुरो आदि रैथाने बालीको संरक्षणको योजना बनाएको छ । 

पछिल्लो समयमा रैथाने बालीबाट बनाइएका परिकार पर्यटकको रोजाइमा परेकाले त्यसको बिक्री गरी स्थानीय कृषकको आयआर्जन वृद्धि गर्न कार्यक्रम सञ्चालन गरिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । कार्यक्रम अन्तर्गत किसानको ५० प्रतिशत लागत सहभागितामा बिउमा अनुदान, मेसिनरी सहयोग, प्राविधिक ज्ञान तथा बिक्रीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । 

तोरीका लागि तीन लाख, मुसुरोलाई दुई लाख ५० हजार, कोदोलाई छ लाख र जोत्ने, पिस्ने, पेल्ने मेसिनरी औजारका लागि १० लाख रुपियाँ अनुदान प्रदान गर्न रकम विनियोजित गरेको अध्यक्ष थापाले बताउनुभयो । तोरी खेती गरेको स्थानमा मौरीपालन गरी दोहोरो आम्दानी गर्न सकिने भएकाले मौरीपालनका लागि छ लाख रुपियाँ विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

बन्दीपुरमा पर्यटक प्रशस्त आउने भएकाले स्थानीय पर्यटन व्यवसायीलाई खरिद तथा पर्यटकलाई बिक्रीका लागि बन्दीपुरमा कोसेली घर सञ्चालन गरिएको उहाँले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “मिलको अभाव भएकाले कोदो र तोरी किसानले लगाउन छाडेकाले मेसिनरीमा अनुदानको व्यवस्था गरेका छौँ, यसले जमिन बाँझो हुने क्रम रोक्न तथा रैथाने बाली संरक्षणमा समेत टेवा पुग्ने देखेर कार्यक्रम सञ्चालन गरेका हौँ ।”  

सहकारी, कृषक समूहलाई कार्यक्रममा सहभागी हुन सूचित गरिएको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रम तोरी, मुसुरो र कोदोमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाको छ । रैथाने बालीले बालबालिकाको शारीरिक तथा मानसिक वृद्धिको विकासमा टेवा पुग्ने भएकाले रैथाने बालीबाट उत्पादन हुने खाद्यवस्तुलाई आफ्ना बच्चालाई खानाका रूपमा अभिभावकलाई सदुपयोग गर्न आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो ।