• १२ असोज २०८१, शनिबार

सडकका योजनाको प्रगति सुस्त

blog

निर्माण सम्पन्न भएको लिदीखोला पुल । तस्बिर : गणेश पौडेल

पर्वत समाचारदाता 

पर्वत असोज ६ गते । पूर्वाधार विकास कार्यालय पर्वतमार्फत जिल्लामा सञ्चालित सडकका योजनाको समयमा काम नहुँदा अपेक्षित प्रगति हुन सकेको छैन । सम्झौता गरेर काम नगर्ने निर्माण कम्पनीका कारण सडकको सोचे अनुसारको प्रगति हुन नसकेको हो । 

पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार आर्थिक वर्ष २०८०/८१ मा क्रमागत योजनाको २० किलोमिटर मात्रै कालोपत्रे भएको छ । निर्माण कम्पनीले ठेक्का सम्झौता गरेर समयमा काम नगर्दा यस्तो अवस्था आएको हो ।  

जिल्ला पूर्वाधार कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार आव २०७९/८० मा सम्पन्न हुनुपर्ने योजनासमेत समयमा सम्पन्न नहुँदा १२ वटा योजना समयमा सम्पन्न हुन सकेका छैनन् । उहाँले भन्नुभयो, “ठेकेदारको लापर्बाहीका कारण समयमा काम नहुँदा सोचे अनुसारको प्रगति हुन सकेको छैन ।” 

कार्यालय प्रमुख अर्यालका अनुसार २० वटा योजना बहुबर्से ठेक्कामा गएका छन् भने वन क्षेत्रलगायत विवादका कारण १० वटा योजना कार्यान्वयन भएका छैनन् । गत आवमा डिमुवा–राम्जा–चित्रे साढे पाँच किलोमिटर र चिसापानी–हातेमालो चोक–त्रिवेणी–वहाकीभन्ज्याङ–पोखराचौर सडक आठ किलोमिटर कालोपत्रे गरिएको छ । 

सेराबेँसी–मोहरिया–भुकताङ्ले, नुवार–सहिदचोक–चुुचुनदेउराली सडक ५६० मिटर र बाँझाबारी–राम्चे–चौतारा शङ्करपोखरी सडक ५६० मिटर, मख–ठुलीपोखरी–देउपुर–देउराली–जोगीथुम दुई किलोमिटर, मिलनचोक–धाइरिङ–घाखेत चार किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ । उहाँका अनुसार लुङ्खुदेउराली मिलनचोक–बालाकोट सडक पाँच किलोमिटर र मिलनचोक–धाइरिङ सल्यान–घाहाखेत सडक १० किमि समस्याग्रस्त योजनाका रूपमा रहेका छन् । उहाँका अनुसार यस वर्ष ग्रामीण सडक कालोपत्रे, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत १२२ वटा योजना सम्पन्न भएका छन् । 

गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट १५२ योजना कार्यान्वयनका निम्ति स्वीकृत भएकोमा १२२ वटा योजना सम्पन्न भएका र बाँकी निर्माणाधीन रहेका जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ । आव २०८०/८१ मा गण्डकी प्रदेशमातहतका १३३ योजना र सङ्घीय सरकार अन्तर्गतका १९ वटा योजनामध्ये सडकतर्फ छ वटा ठुला आयोजना सम्पन्न भएका तथा सात वटा मर्मत गरिएका हुन् ।

सडक पूर्वाधार निर्माणकै क्रममा डिमुवा–राम्जा सडक अन्तर्गत पर्ने लिदीखोलाको पुल भने निर्माण समयअगावै पूरा भएको छ । कस्तुरी कन्स्ट्रक्सन सर्भिसले पुलको निर्माण कार्य सम्पन्न गरेको हो । पुल निर्माण कार्य निर्धारित मितिभन्दा सात महिनाअघि नै सम्पन्न भएको छ । १५ मिटर लामो उक्त पुलको निर्माणका लागि निर्माण कम्पनीसँग कुल दुई करोड ५३ लाख ३९ हजा ३४७ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।