• १२ असोज २०८१, शनिबार

दुई महिनामा पच्चिस दुर्घटना

blog

ट्राफिक नियमबारे सचेतना प्रदान गर्दै ट्राफिक प्रहरी । तस्बिर : गजेन्द्र गुरुङ

खजुरा समाचारदाता

खजुरा, असोज ६ गते । बाँकेमा पछिल्ला दुई महिनामा २५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका छन् भने १२ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्पराज पन्तले चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ दुई महिनामा मात्र जिल्लाका विभिन्न स्थानमा २५ वटा सवारी दुर्घटना भएको र उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका तथा १२ जना सर्वसाधारणको मृत्यु भएको बताउनुभयो ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ट्राफिक प्रहरीले कारबाहीसमेत गर्दै आएको छ । चालु आवको साउन र भदौ दुई महिनामा मात्र  ट्राफिक प्रहरीले पाँच हजार ११८ सवारीसाधन तथा चालकलाई कारबाही गरेको ट्राफिक प्रहरी बाँकेले जनाएको छ । उक्त कारबाहीबाट ४० लाख २९ हजार रुपियाँ जरिबानाबापत राजस्वसमेत सङ्कलन भएको छ । जरिबानाका साथसाथै बाँके ट्राफिकले सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी विभिन्न सचेतनाका कार्यक्रम पनि गर्दै आएको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो । 

ट्राफिक प्रहरीले सवारीसाधनले गल्ती गरेको अवस्थामा जरिबाना मात्र गराउने नभएर सम्बन्धित पक्षलाई ट्राफिकसम्बन्धी ज्ञान र सचेतना प्रदान गर्दै आएको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले विभिन्न सचेतनाका कार्यक्रम बढाउँदै लगे पनि ट्राफिक नियम पालनाको अटेरीका कारण सडक दुर्घटना हुने र त्यसबाट सर्वसाधारण घाइते हुनुका साथै ज्यानसमेत जाने गरेको उहाँको भनाइ छ । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार बाँकेमा गत आव २०८०/८१ मा १५८ वटा सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा परी ४८ पुरुष, १६ महिला र दुई बालक गरी ६६ जना सर्वसाधारणको ज्यान गएको थियो भने २१२ जना घाइते भएका थिए ।