• ११ असोज २०८१, शुक्रबार

खैराबाङ मन्दिर पुनर्निर्माणमा ढिलाइ

blog

सल्यान समाचारदाता

सल्यान, असोज ६ गते । यहाँको खैराबाङ भुवनेश्वरी भगवती मन्दिरको पुनर्निर्माणको काम रोकिएको छ । बहुवर्षीय आयोजनाका रूपमा रहेको पुनर्निर्माणको कार्य बजेट कार्यान्वयन नगर्दा तत्काललाई रोकिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातìव विभागको सहयोगमा शारदा नगरपालिका–११ मा रहेको  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल खैराबाङ भुवनेश्वरी भगवती मन्दिरलाई प्यागोडा शैली नेपाली छानामा पुनर्निर्माणको काम अघि बढाइएको थियो । करिब चार दशकअघि पुनर्निर्माण गरिएको यस मन्दिरको फेरि पुनर्निर्माण गर्न सुरु गरिएको हो । मन्दिर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष छविकुमार शर्माले गारो लगाउने, झ्यालढोका राख्ने काम सकिएको बताउनुभयो । उहाँका अनुसार मन्दिरको छाना राख्ने र रङरोगनको काम भने अझै बाँकी छ  । 

सो मन्दिर विगतमा छड र सिमेन्ट प्रयोग गरी निर्माण गरिएको थियो भने अहिले ढुङ्गामाटो र काठको मात्रै प्रयोग गरेर पुनर्निर्माणको काम गरिएको छ । मन्दिरको पुनर्निर्माणका लागि एक करोड ५२ लाख लागत अनुमान गरिएको छ ।  

पहिलो वर्ष झन्डै ८० लाख रुपियाँको काम भएको छ । मन्दिरको बाँकी काम सम्पन्न गर्न अझै ५० लाख रुपियाँभन्दा बढी लाग्ने आकलन गरिएको छ । पुरातत्व विभागले आवश्यकता अनुसारको बजेटको व्यवस्था गरे यस वर्ष मन्दिर पुनर्निर्माणको काम सबै सकिने अध्यक्ष शर्माले जानकारी दिनुभयो । दसैँ आउन दुई साता बाँकी रहेको छ । यस वर्ष निर्माणाधीन मन्दिरबाटै पूजाआजाको व्यवस्था मिलाइने भएको छ । स्थानीय दीपक शर्माले पुनर्निर्माणको काम रोकिएको र निर्माणाधीन मन्दिरमै पूजाआरधना गरिने बताउनुभयो । 

आश्विन शुक्लपक्ष र चैत्र शुक्लपक्षसँगै अन्य समय पनि मन्दिर भक्तजनका लागि खुला रहने गर्दछ । खैराबाङ भगवती मन्दिरमा बर्सेनि कम्तीमा दुई लाख भक्तजनले दर्शन गर्ने गरेको मन्दिरका पुजारी छविरमन शर्माले जानकारी दिनुभयो । धार्मिक शास्त्र अनुसार खैराबाङ भगवती मन्दिर नेपालमा रहेका ५१ पीठमध्ये एक पवित्र मन्दिरका रूपमा चिनिन्छ ।