• ११ असोज २०८१, शुक्रबार

पर्यटकलाई धर्मशाला

blog

मेलौली भगवती मन्दिर परिसरमा तयार भएको धर्मशाला भवन । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, असोज ६ गते । मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई खान, बस्न र भजनकीर्तन गर्न धर्मशाला तयार भएको छ । मन्दिर परिसरमा तयार भएको १० कोठाको दुईतले भवनमा धार्मिक समारोह आयोजना गर्न दुई सय मानिस अट्ने क्षमताको सभा हल, भान्साघर, शयनकक्ष, अतिथिगृह, स्नान कक्ष, सार्वजनिक शौचालय, पार्किङ र व्यापारिक प्रयोजनका लागि दुई वटा सटर निर्माण गरिएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मेलौली नगरपालिकाको सात करोड रुपियाँ लगानीमा धर्मशाला, मन्दिर प्रवेश गर्ने छ वटा प्रवेशद्वार, घेरापर्खाल, फोहोरमैला व्यवस्थापनलगायतका संरचना तयार भएका छन् । पर्यटन मन्त्रालयको चार करोड ५५ लाख र मेलौली नगरपालिकाको दुई करोड ४५ लाख रुपियाँमा २०७७ सालदेखि संरचना निर्माण सुरु भएको थियो । संरचना अन्तर्गत धर्मशालाको काम भए पनि प्रवेशद्वारको रङरोगन र पर्खालको काम सक्न बाँकी छ । 

तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको मुख्य धार्मिक केन्द्रका रूपमा रहेको मेलौली भगवतीमा धर्मशाला तयार भएपछि धार्मिक पर्यटकले बसोबासका लागि होटल खोज्न पर्ने बाध्यता हटेको मेलौली नगरपालिकाका पूर्वमेयर कृष्णसिंह नायकले बताउनुभयो । उहाँले आफू नगरप्रमुख भएका बेला मेलौली भगवती मन्दिरको गुरुयोजना तयार गरेर विसं २०७७ देखि निर्माणको काम सुरु भएको बताउनुभयो । 

स्थानीय तहको दोस्रो कार्यकालमा चुनिएका जनप्रतिनिधिले निर्माणको कमप्रति चासो नदिँदा प्रवेशद्वारको काम  हुन ढिलाइ भएको उहाँले गुनासो गर्नुभयो । धर्मशाला निर्माणको काम सम्पन्न भइसकेकाले अन्य संरचनाको काम छिटो सक्न ठेकेदारलाई ताकिता गरिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताउनुभयो । उहाँले धर्मशालामा पर्यटक बस्न सुरु भइसकेकाले बाँकी काम पनि यही वर्षभित्र पूरा गर्ने बताउनुभयो । 

प्रसिद्ध शक्तिपीठका रूपमा मानिएको मेलौली भगवतीको मुख्य पूजा र जात्रा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने गर्दछ । उक्त अवसरमा यहाँ करिब दुई सयदेखि पाँच सयसम्म राँगा र सोही सङ्ख्यामा बोकाको बलि दिइने गरिन्छ । भगवतीको दर्शन गर्न भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चम्पावत जिल्लाबाट हजारौँ भक्तजन आउने गरेका छन् ।