• ११ असोज २०८१, शुक्रबार

महालक्ष्मी साहित्य पुरस्कार अर्याललाई प्रदान

blog

हेटौँडा समाचारदाता

हेटौँडा, असोज ६ गते । महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याल (धिताल) लाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाज, मकवानपुरको आयोजना एवं महालक्ष्मी विकास बैङ्क लिमिटेडको संयोजनमा एक्काइसौँ महालक्ष्मी साहित्य पुरस्कार, २०८० एकाउन्न हजार नगदसहित अर्याललाई शनिबार हेटौँडामा आयोजना गरिएको कार्यक्रममा प्रदान गरिएको हो । 

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, प्रमुख संरक्षक मुक्ति गोविन्द वैद्य, महालक्ष्मी विकास बैङ्क लिमिटेडका क्षेत्रीय प्रबन्धक शम्भु पराजुलीलगायतले संयुक्त रूपमा पुरस्कार तथा सम्मान वितरण गर्नुभएको थियो । 

पत्रकारिता क्षेत्रमा क्रियाशील मकवानपुरका पत्रकार माधव न्यौपानेलाई केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार, २०८० प्रदान गरिएको छ । उहाँलाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । त्यस्तै मकवानपुरका अग्रज शिक्षासेवी बद्रीनाथ शर्मा अर्याललाई ‘मकवानपुर श्रीसम्मान, २०८१’ प्रदान गरिएको छ । सम्मान प्रदान गर्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले भाषा साहित्यले नै मुलुक जोगाउने भएकाले भाषा, साहित्य, कलाको संरक्षण गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले भाषा, कलामा बाहिरी देशको प्रभाव बढ्दै गएकाले त्यो हटाउन सबै लाग्नुपर्ने बताउँदै भाषा साहित्यको क्षेत्रलाई प्रदेश सरकारले सधैँ प्राथमिकतामा राखेको बताउनुभयो ।  

यस्तै कवि एस लामाको पहिलो कृति ‘बहिष्कृत आवाज’ शनिबार एक कार्यक्रमबिच हेटौँडामा विमोचन गरिएको छ । कविता सङ्ग्र्रहमा सामाजिक रूपमा पछाडि परेका, समाजबाट बहिष्कार भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाको भनाइ छ । छ वटा खण्डमा विभाजन गरी कविता सङ्ग्र्रह प्रकाशित गरिएको छ । लेखकले करिब १० वर्ष अवधिमा लेखिएका ४५ वटा कवितालाई कृतिमा समावेश गर्नुभएको छ । कार्यक्रममा कविता सङ्ग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले विमर्श गर्नुभएको थियो । 

विमर्श गर्दै डा. रामले कविले कवितामार्फत समाजको सचित्र वर्णन गर्न सफल भएको बताउनुभयो । त्यस्तै पालिका उपाध्यक्ष नेपालीले सरल, सामान्य र सबैले बुझ्न सक्ने गरी ल्याइएको कविता सङ्ग्रहको प्रशंसा गर्नुभयो । कार्यक्रममा साहित्यकार निमेश निखिलले सामाजिक रूपमा पछाडि परेका वर्गको आवाज उजागर गरेको र किनारामा परेकालाई शब्दमार्फत उजार गरेको बताउनुभयो । कार्यक्रममा लामाले लेख्नुभएको कविता साहित्यकारहरूले वाचन गर्नुभएको थियो ।