• ११ असोज २०८१, शुक्रबार

तस्करीको काठसहित एक जना पक्राउ

blog

धनुषाको मिथिला नगरपालिका–५, स्थित जगधर खोला वन क्षेत्रबाट नियन्त्रणमा लिइएको तस्करीका काठ । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, असोज ५ गते ।
 वन कर्मचारीले धनुषाको मिथिला नगरपालिका–५, स्थित जगधर खोला वन क्षेत्रबाट तस्करीका काठसहित एक जनालाई पक्राउ गरेको छ । सब डिभिजन वन कार्यालय पुष्पवलपुरबाट खटिएको वन कर्मचारीले शुक्रबार राती ३४ थान सालको गोलिया, १० थान साइकलसहित एकजना मानिसलाई पक्राउ गरेको हो ।

सब डिभिजन वन कार्यालय पुष्पवलपुरका वन अधिकृत रामयुगल साहले जङ्गलबाट तस्करले काठ तस्करी गरी ल्याइरहेको अवस्थामा धनुषाको छिरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका रमेश महतोसहित सो काठ तथा साइकल बरामद गरिएको बताउनुभयो । वन क्षेत्रबाट अवैधरुपमा काठ तस्करी भइरहेको सूचनाको आधारमा नियन्त्रण गर्न खटिएको वन गस्ती टोलीलाई देखेर अन्य काठ तस्कर भने फरार भएको उहाँले जानकारी दिनुभयो ।

बरामद भएको काठ तथा साइकल पुष्पवलपुर सब डिभिजन वन कार्यालयमा ल्याएर राखिएको छ भने पक्राउ परेका महतोमाथि आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको वन अधिकृत साहले बताउनुभयो ।