काठमाडौँ, असोज ५ गते । पछिल्लो समय अल्जाइमर तथा डिमेन्सिया रोग बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वमा प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामी थपिने अनुमान गरिएको छ । यो सङ्ख्या २०५० सम्म दोबर हुने डब्लुएच्ओको अनुमान छ ।
प्रत्येक तीन सेकेन्डमा एक जनामा डिमेन्सिया हुने अध्ययनले देखाएको छ । निम्न र मध्यम आय भएका देशबाट तीन जनामध्ये दुई जनामा डिमेन्सिया हुने देखाएको छ । नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सङ्ख्या १० प्रतिशत रहेको छ र बुढ्यौली वृद्धिसँगै मानसिक स्वास्थ्यसम्बन्धी बढ्दै गएको छ ।
नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सङ्ख्या १० प्रतिशत रहेको छ र बुढ्यौली वृद्धिसँगै मानसिक स्वास्थ्यसम्बन्धी बढ्दै गएको छ ।
मानसिक स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा ६० वर्षभन्दा माथिका करिब सात प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको डिमेन्सिया रोगबाट प्रभावित हुने देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल, विश्वमा पाँच करोड ५० लाख मानिसहरू डिमेन्सिया रोगबाट प्रभावित छन् । जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको छ । नेपालमा जनसङ्ख्याको वृद्धिसँगै अल्जाइमर तथा डिमेन्सिया स्वास्थ्य समस्याका रूपमा देखिएको छ ।
अल्जाइमर कस्तो रोग हो ?
अल्जाइमर एक न्यूरोलोजिकल दीर्घरोग हो । मानसिक रोग विशेषज्ञ डा. निदेश सापकोटाले ब्रेनभित्र कुनै पनि कारणले खराब प्रोटिन जम्मा भएमा अल्जाइमर हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ब्रेनको कोषिकाभित्र खराब प्रोटिन जम्मा भएर मस्तिष्कका कोषहरू बिस्तारै मर्ने गर्दछन्, जस्लेगर्दा स्मरण शक्ति, सोच्ने क्षमता र व्यवहारमा असर निम्त्याउने गर्छ ।”
यसले गर्दा स्मरण शक्तिमा ह्रास आउनुका साथै सुन्न सक्ने क्षमता कम हुने गर्छ । मानसिक रोग विशेषज्ञ डा. सापकोटाका अनुसार पुराना कुरा बिर्सँदै जाने र एउटै कुरा बारम्बार दोहोराउने, ध्यान केन्द्रित गर्नलाई समस्या हुने रोगलाई अल्जाइमर भनिन्छ ।
अल्जाइमरका लक्षण
डा. सापकोटाका अनुसार अल्जाइमर तीन प्रकारका हुन्छन् । सुरुवाती चरणमा बिरामीले भर्खरै गरेका कुराहरू बिर्सने गर्दछन् । उहाँ भन्नुहुन्छ, “बिरामीले पहिलो चरणमा भर्खर गरेको कुरा बिर्सन्न जस्तै खाएको बिर्सने, सामान राखेको ठाउँ बिर्सने, र एउटै कुरा गरिराख्नेजस्ता लक्षण देखिने गर्छ ।”
दोस्रो चरणमा रोग जटिल हुँदै गएर पहिलेका कुरा बिर्सने, आफ्ना छोराछोरी, श्रीमान् बिर्सने, परिवारका अन्य सदस्य बिर्सने, घर आउजाउ गर्ने बाटो बिर्सनेजस्ता लक्षण देखिने डा. सापकोटाको भनाइ छ ।
यो रोग बढ्दै गएर रोगको तेस्रो चरणमा बिस्तारै मानसिक समस्या देखिने गर्छ । शङ्कालु हुने, नभनेका कुरा सुन्ने, वरिपरि नभएको कुरा देख्ने, सामाजिक रूपमा आपत्तिजनक काम गर्नेजस्ता समस्या निम्तने डा. सापकोटा बताउनुहुन्छ ।
यदि रोगको समयमा नै पहिचान नगरेमा कडा लक्षण देखिई दैनिक जीवनयापनमा कठिन हुने डा. सापकोटाले जानकारी दिनुभयो । उहाँ भन्नहुन्छ, “यो रोग पहिचान भएन भने अन्तिम अवस्थामा खाना निल्न नसक्ने, दैनिक काम गर्न नसक्ने, शब्द हराउँदै जाने हुँदा बोल्न नसक्ने, हिँडडुल गर्न नसक्ने जस्ता लक्षण देखिने गर्दछन् ।” उठ्न नसक्ने र खानेकुरा निल्न नसकेर खाना सर्केर निमोनिया भएर बिरामीको मृत्यु समेत हुने डा. सापकोटा बताउनुहुन्छ ।
अल्जाइमरका कारण
यो उमेरको प्रमुख कारणमा बढ्दो उमेर भएता पनि प्रमुख जोखिम समूहमा श्रवण शक्तिमा कमी हुने मानिस, नसर्ने रोगजस्तै उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह भएका मानिसमा यो रोग लाग्ने जोखिम बढी हुने सापकोटा बताउनुहुन्छ ।
त्यसका अलावा मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्त्वको कमीले, अत्यधिक मदिरा र धूम्रपानको सेवन गर्ने मानिस, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियता रहेका मानिसमा भविष्यमा अल्जाइमर हुने सम्भावना बढी हुन्छ ।
रोगबाट कसरी बच्ने
जोखिम तत्त्वलाई कम गर्न सकेमा यो रोगलाई रोकथाम गर्न सकिने डा. सापकोटा बताउनुहुन्छ । अल्जाइमरलाई नियन्त्रण गर्न शारीरिक कसरत गर्ने, मानसिक रूपमा सक्रिय हुनु, दीर्घरोग नियन्त्रणमा राख्न उहाँको सुझाव छ । जोखिमलाई कम गर्न सकेमा एक चरणबाट अर्को चरणमा रोग बढ्नबाट रोक्न सकिने चिकित्सकको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “यसको कारक तत्त्वलाई ४० प्रतिशत अल्जाइमर रोगलाई निर्मूल गर्न सकिन्छ । ६० प्रतिशत जिनबाट हुने हुँदा नियन्त्रण गर्न सकिँदैन ।” हरेक दिन नयाँ कुरा सिक्ने, पढ्ने गर्दा पनि यो रोग लाग्नबाट बच्न सकिने उहाँ बताउनुहुन्छ । खानेकुरामा ध्यान दिने जीवनशैलीमा परिवर्तन गर्न सकेमा यो रोगलाई निर्मलीकरण गर्न सकिन्छ । परिवारका सदस्यले सुरुवातै चरणमा लक्षण देखिनसाथ चिकित्साकोमा लगेर रोग पत्ता लगाइ औषधी सुरु गराएमा यो रोगलाई नियन्त्रण गर्न सकिने चिकित्सकको सुझाव छ ।
रोग नियन्त्रण गर्न के गर्दैछ सरकार
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले सरकारले यो रोग रोकथाम गर्न नीतिगत व्यवस्था गरेको जानकारी दिनुभयो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत रोगको लागि एक लाखसम्म उपचार सुविधा प्रदान गर्ने गरेको बताउनुभयो ।
सरकारले यो रोगका लागि १२ वटा अस्पताल सुचिकृत भई सेवा प्रदान गरिरहेको छ ।
सरकारले यो रोगका लागि १२ वटा अस्पताल सूचीकृत भई सेवा प्रदान गरिरहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अनुसार ज्येष्ठ नागरिक मानसिक स्वास्थ्यका लागि अल्जाइमर डीसअर्डर लगायतका विस्मृति तथा मानसिक समस्याको शीघ्र पहिचान र व्यवस्थापन गरी सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्ने रणनीति लिएको उहाँले जानकारी दिनुभयो । २१ सेप्टेम्बरमा “अबको आवश्यकता : अल्जाइमर तथा डिमेन्सियामा क्रियाशीलता” भन्ने नाराका साथ ३१ औँ विश्व अल्जाइमसर दिवस मनाइँदै छ ।