• ११ असोज २०८१, शुक्रबार

संविधान पालना गरेमा देश समृद्धिको बाटोमा बढ्ने : प्रदेश प्रमुख

blog

तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असोज ३ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको मर्म र भावनालाई अक्षरशः पालना गरेमा देश समृद्धिको बाटोमा द्रुतगतिमा अघि बढ्ने बताउनुभएको छ ।

बागमती प्रदेश सरकार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समितिको आयोजनामा बिहीबार हेटौँडामा भएको कार्यक्रमलाई संशोधन गर्दै प्रदेश प्रमुख देवकोटाले इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको त्याग र बलिदानको उपज वर्तमान संविधान नेपाली जनभावना र मर्म सापेक्ष भएको बताउनुभयो । उहाँले यो संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको बताउनुभयो ।

नेपालको संवैधानिक इतिहासमा पहिलोपटक जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले संविधान सभा मार्फत जारी भएको यो संविधान आफैँमा उत्कृष्ट छ प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, "जनताको प्रतिस्पर्धामा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निस् पक्ष्य र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा यसका मुख्य विशेषता हुन् ।" उहाँले विविधतामा एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धनमा नेपालको संविधान २०७२ ले जोड दिएको बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको बताउनुभयो । उहाँले संविधानले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पुरा गर्नुपर्ने भनी निर्दिष्ट गरेका जिम्मेवारीहरू बहन गर्दै राष्ट्रको समृद्धि हासिल गर्नका लागि निर्धारित लक्ष्यहरू प्राप्तिको दिशामा अघि बढ्नुपर्ने आजको मूल दायित्व भएको भन्दै बागमती प्रदेश नेपालको संविधान जारी भए पश्चात् स्थापना भई शून्यको अवस्थाबाट आफैले कानुन निर्माण गरी सेवा प्रवाह गर्दै आइरहेको बताउनुभयो । 

उहाँले प्रदेश सरकार स्थापना  भएपछि बजेट र कानुनमा जनताको पहुँच विस्तार भएको भन्दै हिजोको दिनमा सामर्थ्य र पहुँचको अभावमा सिंहदरबारको गेटबाटै फर्कने योजना, गुनासो र सुझावहरू आज प्रदेश सरकारबाट सम्बोधन हुने गरेको जिकिर गर्नुभयो । 

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संविधानको संस्थागत विकास गर्दै समृद्धिको यात्रामा लाग्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । 

कार्यक्रम २०८० सालको एसइईमा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी समुत्तीर्ण विद्यार्थीहरू, संविधान दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिता विजयी विद्यार्थी र भलिबल प्रतियोगितामा विजयी टिमलाई पुरस्कृत गरिएको थियो । 

हेटौँडाको भुटनदेवी माविबाट सुरुभएको विभिन्न झाँकी, प्रहरी र सेवाको व्याडबाजासहित प्रभातफेरिले बजार परिक्रमापछि मुख्यमन्त्री कार्यालय परिसरमा कार्यक्रममा परिणत भएको थियो ।