• ११ असोज २०८१, शुक्रबार

केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री शाह

blog

संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रममा सहभागी प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत । तस्बिर: प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, असोज ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले प्रदेशको अधिकार प्रत्यायोजनमा गरेमा प्रदेश सरकार बलियो हुने बताउनुभएको छ ।  

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका संयोजक समेत रहनु भएका मुख्यमन्त्री शाहले बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । केन्द्रीकृत मानसिकताका कारण अधिकार प्रत्यायोजन नगरिएको उहाँको गुनासो छ । उहाँले अधिकार नहुँदा नै प्रदेशको विकासमा समस्या भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सङ्घीय सरकारले प्रदेशका अधिकार पूर्णरुपमा प्रत्यायोजन नगर्दासम्म जनताको अपेक्षाअनुसार काम गर्न कठिन हुन्छ ।” मुख्यमन्त्री शाहले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको स्थानमा सङ्घात्मक शासन प्रणाली यो संविधानको महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

साझा शासन र स्वशासनको उचित तालमेल मिलाइ सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको दिगो व्यवस्थापन गर्न वर्तमान संविधानले दिशानिर्देश गरेकाले त्यसको कार्यान्वयनका लागि सबैको योगदान हुनुपर्ने बताउनुभयो ।

उहाँले सकारात्मक प्रयास र प्रयत्नका गरिरहँदा पनि नागरिकको अपेक्षालाई ठोस रूपमा सम्बोधन गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले सुदूरपश्चिम जनताका विकासको चाहनाअनुसार सरकार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह पार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, पूर्व मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू सुरक्षा अधिकारी, निजामती कर्मचारीलगायतको उपस्थिति थियो ।