• ११ असोज २०८१, शुक्रबार

संविधान दिवसका अवसरमा बेनीमा प्रभातफेरी

blog

संविधान दिवसका अवसरमा बेनीमा निकालिएको प्रभातफेरी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज ३ गते ।
 संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार बिहान बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।

बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा संविधान सभाका सदस्यद्वय गोविन्द्र पौडेल र नवराज शर्मा, जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, निजामती कर्मचारी, सर्वसाधारण र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।

विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी हुलाकचोक, न्यूरोड, क्याम्पसचोक हुँदै संगमचोक, बालमन्दिर चोक भएर पुनः विरेन्द्रचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा संविधानसभाका सदस्य पौडेलले संविधान जारी भएको दश वर्षको अवधिमा संविधान भित्रका अन्तर वस्तुका बारेमा छलफल र बहस सुरु भएको बताउनुभयो । संविधानलाई कार्यान्वयन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो ।

यस्तै, संविधानसभा सदस्य शर्माले राजनीतिक स्थिरता कायम गर्न संविधानमा भएका कमीकमजोरीहरूलाई सुधार गरेर संविधानको संशोधन गर्न आवश्यक भएको उहाँले बताउनुभयो । संविधान संशोधनका विषयमा अहिले भएको बहसले सार्थकता पाए मुलुकमा राजनीतिक स्थिरता कायम हुने उहाँको भनाइ छ ।

संविधान दिवसलाई भव्य रूपमा मनाउने क्रममा अघिल्लो बुधबार बेनीमा सरसफाइ गरिएको थियो । जिल्लाका स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरेर बिहीबार संविधान दिवस मनाउँदै छन् । संविधान दिवसका दिन आज साँझ सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको संयोजनमा विरेन्द्रचोकमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । 

सङ्घ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय, निकाय, प्रतिष्ठान, सङ्घसंस्थामा मर्यादापूर्वक राष्ट्रिय झण्डा फहराउने तथा असोज २, ३ र ४ गते घरघरमा साँझ दीप प्रज्ज्वलन गरेर संविधान दिवस मनाउने निर्णय भएको जिसस प्रमुख थापाले बताउनुभयो ।

सरकारले संविधान जारी भएको आजको दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।