• ११ असोज २०८१, शुक्रबार

नयाँ पर्यटकीय क्षेत्र थपिँदै

blog

जिप लाइनमा रमाउँदै एक पर्यटक ।

चितवन समाचारदाता

चितवन, असोज ३ गते । भरतपुर भ्रमण वर्ष पारेर यस क्षेत्रमा नयाँ पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ ।  भरतपुर आउने पर्यटकलाई केन्द्रित गरी पर्यटकीय गतिविधि सञ्चालनमा आएका छन् । असार, साउन, भदौ तीन महिना बर्सातले गर्दा पर्यटकीय गतिविधि गर्नका लागि केही समस्या भए पनि असोज लागेपछि कार्यक्रमले निरन्तरता पाउने दाबी गरिएको छ । भ्रमण वर्ष केन्द्रित गरेर चितवन निकुञ्जको देवनगरमा वन्यजन्तु हेर्न मिल्ने स्थान सञ्चालनमा आएको छ । 

विभिन्न कारणले थुनेर राख्नुपर्ने पाटेबाघलाई खोरमा राखिएको छ । त्यही बाघलाई प्रत्यक्ष हेर्न पाउने व्यवस्था मिलाइएको छ । यो यसै भ्रमण वर्षको अवसरमा सुरक्षित रूपमा हेर्न मिल्ने बनाइएको महानगरपालिकाका कार्यालयले जानकारी दिएको छ । निकुञ्जले वन्यजन्तुलाई उपचारका लागि राख्न निर्माण गरेको अस्पतालमा पर्यटकले हेर्न पाउने व्यवस्था मिलाएको हो । यस क्षेत्रमा बाघ, हात्ती, गैँडालगायतका जनावर ल्याएर राखिने छ । यो यसै वर्षबाट सञ्चालनमा आएको हो ।  

पाँच वर्षदेखि बन्द भएको भरतपुरको आँपटारीमा रहेको साहसिक खेल जिप लाइन असोज १ गतेबाट सञ्चालनमा आउने भएको छ । कोभिडलगायत विभिन्न कारणले बन्द भएको जिप लाइन पुनः सञ्चालनमा आएको हो । साढे पाँच सय मिटर लामो जिप लाइन जलदेवी सामुदायिक वनभित्र सञ्चालनमा रहेको छ । बालबालिकाका लागि अलग्गै र युवाका लागि अलग्गै जिप लाइन भएकाले जुन उमेर समूह आउँदा पनि यहाँ आउन मिल्ने भएको छ । 

यस्तै गरी गत वर्षको असोज १ गतेबाटै नारायणगढको जोरकुसुमदेखि देवघाटसम्मको चार किलोमिटर मोटरबोट सञ्चालनमा आएको छ । पर्यटकीय पार्क जोरकुसुमबाट दियालो बङ्गलाको पछाडि क्षेत्र, नवलपरासीको ब्रिटिस क्याम्प, बागेश्वरी धाम हुँदै देवघाट क्षेत्र पुग्ने मनोरम स्थल हेर्न पाइने व्यवस्था गरिएको छ । 

भ्रमण वर्षकै अवसरमा तत्कालीन राजा महेन्द्रको मृत्युभएको दियालो बङ्गला यसै भ्रमण वर्षबाट सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल ट्रस्ट अन्तर्गत रहेको यो बङ्गला महानगरपालिकाले सञ्चालन गर्ने गरी अहिले सर्वसाधारणका लागि खुला गरिएको हो । दैनिक दुई सयदेखि तीन सयको सङ्ख्यामा यो दरबार अवलोकन गर्न आउने गरेको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ ।  

भ्रमण वर्ष केन्द्रित गरेर असोजको पहिलो हप्ता भरतपुर महानगरको चौकीडाँडामा राष्ट्रिय झन्डा राखेर पर्यटकीय गन्तव्यको उद्घाटन गरिने तयारी रहेको छ । चौकीडाँडामा प्याराग्लाइडिङ सञ्चालनमा आइसकेको छ । यहाँ बास बस्नका लागि होटेल तथा रेस्टुरेन्ट, पुरानो सदरमुकाम, सुन्तला फार्म, यस क्षेत्रबाट हिमाल देखिनुका साथै चितवनको भरतपुर, रत्ननगर, कालिका नगरपालिका, गैँडाकोटको मौलाकालिका, तनहुँको देवघाटधाम, त्रिशूली नदी, पोखराबाट बग्दै आउने सेती मादी त्रिशूली नदीमा मिसिने सङ्गम स्थललगायतका मनोरम स्थल देखिने चौकीडाँडा पर्यटकीय गन्तव्य बनेको छ ।