• १५ माघ २०८१, मङ्गलबार

जनप्रतिनिधिले बल्ल बुझ्दै योजना छनोट प्रक्रिया, प्राथमिकतामा शिक्षा सुधार

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, असोज ३ गते । स्थानीय जनप्रतिनिधिले बस्ती तहबाट योजना छनोट गराएर लागु गराउनुपर्ने कार्यबारे बल्ल बुझ्न थालेका छन् । आफ्नो स्वविवेक प्रयोग गरेर योजना छनोट गर्दै परिषद्मा पेस गर्दै आएको वडाका जनप्रतिनिधिले अबदेखि प्रक्रियागत रूपमा योजना छनोट गर्न तयार भएका छन् । 

धनुषाको कमला नगरपालिका र सहिद नगरपालिकाका वडा सदस्यहरूले योजना छनोट प्रक्रियाबारे आवश्यक ज्ञान, सिप र जानकारी नहुँदा आफ्नै चाहना अनुसार योजना बनाएर पेस गर्दै आएकोमा आगामी योजना प्रक्रियागत तरिकाबाट छनोट गर्नुपर्ने बुझेपछि सोही अनुसार गर्न थालेको बताएका छन् । 

वडा सदस्यहरू प्रायः साक्षर मात्र हुन्छन् । निर्वाचन जितेर आएपछि धेरै ऐन, कानुन, नियम थाहा पाउँदैनन् । प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुखले जे जसरी भन्छन्, त्यही नै नियम कानुन हुन भन्ने बुझाइमा हुन्छन् । निर्वाचित भएर आएपछि सरकार सञ्चालनसम्बन्धी ऐन, कानुनको अध्ययन गर्ने धेरैमा क्षमता पनि हुँदैन । भएका पनि पढ्दैनन्, त्यसमा ध्यान दिँदैनन् । त्यसकारण योजना छनोटका प्रक्रियाबारे अनभिज्ञ हुँदा आफ्नो चाहना अनुसार नै योजनामा माटो, ग्राभेल, ढलान सडक बढी पेस गर्दै आएका छन् । योजनाको प्राथमिकीकरणबिना नै बजेट विनियोजन भइरहेकाले अन्य क्षेत्रको अवस्था ज्युँका त्यँु रहेको वडा सदस्यहरूले बताउनुभएको छ । दुई दिनको तालिममा नेतृत्व विकास, काम, कर्तव्य, अधिकार र शिक्षामा लैङ्गिक रूपान्तरण, योजना छनोटका प्रव्रिmया, योजनाको प्राथमिकीकरण विषयमा राम्रो ज्ञान र सिकाइ भएपछि अगामी योजना छनोटको प्राथमिकतामा शिक्षा नै परेको कमला नगरपालिका–८ का सदस्य आशादेवी यादवले बताउनुभयो । 

कमला नगरपालिकाको समन्वय तथा आसमान नेपालको आयोजना एवं प्लान इन्टरनेसनलको सहयोगमा आयोजित नवनिर्वाचित सदस्यहरूलाई नेतृत्व र शिक्षामा लैङ्गिक रूपान्तरण क्षमता विकाससम्बन्धी दुईदिने तालिमको सिकाइबाट आगामी योजनामा शिक्षालाई प्राथमिकतामा राखिने जनाउनुभएको छ । विकासको मेरुदण्ड शिक्षा नै भएको भन्दै सहभागी वडा नं. २ का सदस्य जितनारायण यादवले शिक्षामा सुधार ल्याउन टोलबस्तीमा टोल शिक्षा सुधार समिति गठन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जितेर आयौँ तर योजना तर्जुमा गर्नेबारे थाहा थिएन, अब बल्ल बुझ्न थालेका छौँ ।”

योजना छनोटको सात चरण अनुसार पहिलो चरण अन्तर्गत वैशाख मसान्तभित्र टोलबस्तीबाट योजना छनोट कार्य सम्पन्न गरिसक्नुपर्ने हो । आसमान नेपालका बालिका सशक्तीकरण परियोजना धनुषाका संयोजक तथा प्रशिक्षक सञ्जीवकुमार साहले बजेटका सात चरणमा बजेटको पूर्वतयारी, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण, बस्ती, टोलस्तरमा योजना छनोट, वडास्तरमा योजना प्राथमिकता निर्धारण, एकीकृत बजेट तथा कार्यव्रmम तर्जुमा, कार्यपालिकाबाट स्वीकृत र सभामा पेस गर्ने र सभाबाट स्वीकृत भएपछि लागु हुन्छ भन्नेबारे सिकाउनुभएको छ । बजेटको पूर्वतयारी पुस १५ भित्र गरेर माघ, फागुन, चैत हुँदै विभिन्न चरण पूरा गरी असार मसान्तभित्र सभाबाट स्वीकृत गरिसक्नुपर्ने उहाँले बताउनुभयो, “बजेट विनियोजन गर्दा विषयगत पाँच क्षेत्रलाई विशेष ध्यान दिनु पर्छ ।”

नागरिकले आफ्ना टोलबस्तीबाट आवश्यकता महसुस र पहिचान गरी आवश्यकताका आधारमा कार्यक्रम तथा योजना चयन गरी वडास्तर हुँदै पालिकासम्म पु-याउने मौका योजना छनोट प्रक्रिया रहेको जनाउँदै प्रशिक्षक साहले नागरिकको प्रत्यक्ष संलग्नतामा टोल, बस्ती र वडास्तरबाट चयन भइआएका सामाजिक विकास तथा पूर्वाधार निर्माणका योजना र कार्यक्रमलाई उपलब्ध बजेट विनियोजन गरी नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्न सकेको खण्डमा मात्र विकासमा नागरिक सहभागिता सुनिश्चित भएको मान्नुका साथै विकासमा नागरिकको अपनत्व पनि हुने बताउनुभयो ।

आयोजना छनोटका लागि वडास्तरमा जाने कार्यपालिका सदस्य वा वडा सदस्यले टोल, बस्तीका सबै वर्गका नागरिक र समुदायको प्रतिनिधित्व हुने गरी समावेसी सहभागितामूलक भेलाको आयोजना गरेर कार्यक्रम छनोट गर्नुको साटो हतारोमा आफू अनुकूल भेला बोलाएर आफ्नै अनुकूल योजना बनाउने प्रवृत्ति रहँदै आएको स्थानीयको भनाइ छ ।

सो कार्यक्रममा कमला नगरपालिकाका प्रमुख विश्वेश्वर यादवले तालिमको सिकाइले हतार हतारमा योजना बनाउने परिपाटीमा सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले प्रक्रिया अपनाएर योजना बनाइयो भने पालिकाको जनअपेक्षा अनुरूप विकास भई अपनत्व महसुस गरिने बताउनुभयो । कमला नगरपालिकाभित्र आधारभूत तहका ११ र माध्यमिक तहका पाँच गरी १६ वटा सामुदायिक विद्यालय रहेका छन् । यसबाहेक चार वटा मदरसा र छ वटा संस्थागत विद्यालय पनि सञ्चालनमा रहेको शिक्षा युवा तथा खेलकुद र प्रशासन शाखा प्रमुख जैसवालले जानकारी दिनुभयो । ती सबै विद्यालय गरेर करिब आठ हजार विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो । 

कमला नपाको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा प्रमुख र नौ वटै वडाका वडा सदस्य गरी ४० जना तालिममा सहभागी रहेको फिल्ड सुपरभाइजर अम्बिका यादवले जानकारी दिनुभयो । यसै गरी सहिद नगरपालिकामा पनि सोही सङ्ख्यामा सहभागी रहेको उहाँले जानकारी दिनुभयो । तालिमका सहभागी जनप्रतिनिधिले आआफ्नो वडामा शिक्षामा सुधार ल्याउन अभिभावकलाई सक्रिय र सचेत गराउन प्रत्येक टोलमा टोल शिक्षा सुधार समिति यही असोजभित्र गठन गरिने सहमत भएको फिल्ड सुपरभाइजर विजय सदाले जानकारी दिनुभयो ।