• १५ माघ २०८१, मङ्गलबार

घाँसघर र पानीपोखरीले किसानलाई राहत

blog

चौतारा साँगाचोकगढी नगरपालिकामा निर्माण गरिएको पानीपोखरी ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, असोज ३ गते  । चौतारा साँगाचोकगढी नगरपालिका–११ ले वडाभरका किसानको सहजताका लागि  घाँसघर र सिँचाइका लागि पानीपोखरी निर्माण गरी काम गर्न थालेको छ । 

उक्त घाँसघरमा किसानले ल्याएको मकैको ढोड र घाँसका भारीलाई घाँसघरमा रहेको ‘साइलेज मेसिन’ ले प्याकिङ गरेर गुइँठो बनाइदिन्छ । प्याकिङ गरेको घाँसको गुइँठो अनुमानित ५० किलोसम्म हुन्छ । 

हिउँदका समयमा पनि घाँसलाई प्याकिङ गरेर राखेमा हरियो नै हुने प्रविधिस्वरूप चीनबाट १० लाख रुपियाँको लागतमा उक्त ‘साइलेज मेसिन’ खरिद गरिल्याएको वडाध्यक्ष रोशनराज गिरीले जानकारी दिनुभयो । 

“किसानले मकैको ढोड र घाँस लिएर आउँछन्, हामी अत्याधुनिक मेसिनबाट घाँसलाई प्याकिङ गरेर पठाउँछौँ,” गिरीले भन्नुभयो । चौतारा नगरको कवाडीमा थन्किएको सामग्री वडाले पाँच लाख रुपियाँमा किनेर घाँसघर निर्माण गरिएको उहाँले बताउनुभयो ।

घाँसघर निर्माण भएपछि अहिले किसान घाँस काटेर मेसिनमा ल्याउँछन् र प्याकिङ गरेर लैजाने गर्छन् । हिउँदमा किसानको घाँस काट्ने समय बचत हुने भएपछि पशुपालनमा सघाउ पुग्ने वडाका जनप्रतिनिधिको विश्वास छ । 

उक्त वडाले पानीचौरको तल्लो भेगमा ३० लाख रुपियाँको लागतमा गत वर्ष नै एक करोड लिटर पानी अट्ने क्षमताको सिँचाइ पुनर्भरण पानीपोखरी खनेको छ । वर्षायामको भेलको पानी र आकासे पानी जम्मा गरिन्छ । तरकारी खेती, नगदेबाली, अन्य खेतीपातीका लागि सिँचाइ गर्न पोखरी निर्माण गरिएको वडाध्यक्ष गिरीको भनाइ छ । भूकम्पपछि वडाभरका पानीको मुहान सुकेकाले पानीको हाहाकार हुन नदिन पानीपोखरीको अवधारणा अनुरूप पोखरी निर्माण गरिएको उहाँले थप्नुभयो । 

साँगाचोकगढी सुक्खाग्रस्त क्षेत्र हो । त्यसलाई परिपूर्ति गर्न सो पोखरी उपयुक्त हुने देखिन्छ । सिँचाइ र अन्य खेतपातीका लागि वडाका विभिन्न ठाउँमा श्रमदानबाट पाँच सय वटा सानाठुला पानीपोखरी खनिएका छन् । एकदेखि सय घनमिटर ती पोखरीका पानी किसानले सहजै प्रयोगमा ल्याएका छन् । उक्त वडामा वन्यजन्तु नियन्त्रणका लागि वन क्षेत्रलाई आठ किलोमिटर तारबार गरिएको छ । पत्कर सङ्कलन गरेर कम्पोस्ट मल बनाउने तयारी गरिएको छ । साथै पशु सापटी कार्यक्रम थालिएको छ । कृषकलाई प्रोत्साहन गर्ने कार्यमा वडा कार्यालय जुटिरहेको छ ।