• १५ पुस २०८१, सोमबार

निस्किए उत्साही मतदाता

blog

स्थानीय तह निर्वाचनमा भाग लिन राजधानीबाट बाहिरिँदै मतदाता ।तस्बिर :कबिन अधिकारी

काठमाडौँ, वैशाख २९ गते  । स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली रहेको आफ्नो थलोमा जानेको लर्को बढेको छ । कतिपय मतदाता स्वेच्छाले र कतिपय आग्रह टार्न नसकी अस्थायी बासस्थानबाट मतदानका लागि निस्केका हुन् ।यसअघिका निर्वाचनमा झैँ गाउँसम्म लिएर जान र मतदानपछि फिर्ता ल्याइदिने वचनसहित दलका उम्मेदवारले यातायातको व्यवस्थापन गरिदिएका छन् । आउजाउका लागि खर्च नै गर्नु नपरेपछि कतिपय मतदाता खुसीसाथ आफ्नो घर जान तयार भएका छन् । तर केहीले भने तीन वर्षअघि आफूहरूलाई बेहाल बनाएको स्मरण पनि गरेका छन् । उनीहरूले कोरोना सङ्क्रमणको पहिलो लहर (२०७६/७७) आउँदा राजनीतिक दलले अशक्तहरूलाई गरेको उदासीन व्यवहारप्रति गुनासो गरेका छन् । त्यस बेला धेरै मानिस सयौँ किलोमिटरसम्म पनि पैदलै यात्रा गरेर घर जान बाध्य भएका थिए । सोलुखुम्बुबाट कैलालीसम्म खाली खुट्टा पैदल यात्रा गरेर गन्तव्य पुगेका थिए ।

आफूलाई दैनिक रूपमा मतदान गर्नकै लागि गाउँसम्म जान यातायातको व्यवस्थापन गरेको फोन आउन थालेपछि मतदाता त्यस बेलाको कहालीलाग्दो दिन सम्झन्छन् । बस्नेहरूले पनि खानका लागि चामल, दाल र पकाउन ग्यास नभएको समयमा नसम्झने दलले अहिले सम्झनु भनेको औपचारिकता मात्रै निर्वाह गरेको मतदाता बताउँछन् । उनीहरूका अनुसार प्रमुख राजनीतिक दलका सम्पर्क मञ्च तथा भ्रातृ संस्थाले मतदान गर्न गाउँ लिएर जाने र गाउँबाट पुनः सहर ल्याइदिने भन्दै फोन गर्ने गरेका हुन् । केही स्वतन्त्र उम्मेदवारले पनि उपत्यकामा रहेका मतदातालाई बोलाएका छन् । 

दोलखा चरीकोटका प्रदीप श्रेष्ठले कोरोनाको समयमा हप्तौँ लगाएर सहरदेखि गाउँसम्म जाँदा कुनै पनि राजनीतिक दलका नेता कार्यकर्ताले नसम्झेको स्मरण गर्दै भन्नुभयो, “त्यस बेला पाँच वर्षका छोराछोरी बोकेर १० दिनसम्म हिँडेर चरीकोट पुगेको मैले यति छिटै भुलेको छैन ।” अघिल्लो आइतबारदेखि विभिन्न दल, तीनका भ्रातृ संस्था तथा स्वतन्त्र उम्मेदवारले दैनिक रूपमा सम्पर्क गरिरहेको बताउँदै श्रेष्ठ समस्या परेको समयमा नखोज्ने दलका नेता कार्यकर्ताले अहिले गरेको सम्मानको अर्थ नराख्ने बताउँछन् । 

एक सिलिन्डर अक्सिजन नपाउँदा ‘के भयो ?’ भनेर नसोध्ने दलका नेताले खोजेको बस चढेर मतदान गर्न जान मन लागेन ।

“निर्वाचनको समयमा यति धेरै क्रियाशील हुने नेता कार्यकर्ताले कोरोनाको समयमा किन वास्ता गरेनन् ?” उहाँले प्रश्न गर्नुभयो । फोन गर्नेलाई चुनावको अघिल्लो दिन मोटरसाइकलमा जाने भनेर जवाफ दिने गरेको जानकारी दिँदै उहाँले अब कोरोनाजस्तै सङ्कटको समयमा हाम्रा समस्या बुझ्ने नेता चुन्नेमा आफूहरू सजग भएको बताउनुभयो । उम्मेदवारले प्रायः ठूला गाडी रिजर्भ गरेर मतदातालाई गाउँसम्म लिएर जाँदा बीचमा खाना, खाजा र पानीको समेत प्रबन्ध गरिदिने गरेका छन् । “त्यो काम कोरोनाको समयमा गरेको भए अहिले मत नै माग्नु पर्दैनथ्यो,” काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका सन्देश पौडेलले भन्नुभयो । उहाँले मताधिकार आफ्नो अधिकार भएको र दलले आफूहरूलाई खोजिरहनु नपर्ने बताउनुभयो ।

“अहिले विभिन्न दलका उम्मेदवारले हरेक दिन फोन गर्छन् । मत माग्छन् तर कोरोनाकालमा सम्झिएनन्,” उहाँले भन्नुभयो, “छ घण्टा लगाएर साथीसँग हिँडेर काठमाडौँबाट गाउँसम्म पुगेकोे पीडा अझै भुलेको छैन ।” उहाँले निर्वाचनको समयमा मतदातासँग रुने र आश्वासन दिने पुरानै चलन भएकाले कोरोना महामारीको समयमा नसम्झने दल, तिनका नेता तथा कार्यकर्ताले अहिले निर्वाचनको समयमा बोलाए भनेर धेरै खुसी नभएको बताउनुभयो । 

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका यादव दङ्गालले निर्वाचनमा मात्रै जनता सम्झनु भनेको अझै जनतालाई झुक्याउने प्रयास हो भन्दै विपत्का समयमा वास्ता नगर्ने तर मतचाहिँ लाजै नमानेर माग्ने गरेको बताउनुभयो । “समस्या परेको बेलामा के छ नभन्ने, अहिले गाडी पठाउँछु मत दिन आउनु भन्नुले खासै अर्थ राख्दैन,’’ दङ्गालले भन्नुभयो । 

रौतहटको चन्द्रनिगाहपुर जान कोटेश्वरमा बस कुरेर बस्नुभएका सुमन घिमिरेले कुनै पनि दलको गाडी नचढेर आफ्नै खर्चमा टिकट लिएको बताउँदै एक सिलिन्डर अक्सिजन नपाउँदा ‘के भयो ?’ भनेर नसोध्ने दलले खोजेको बस चढेर मतदान गर्न जान मन नलागेको बताउनुभयो। 

“दलका बसमा चढेर गएपछि उनीहरूकै कार्यकर्ता भइहालियो नि,” घिमिरेले थप्नुभयो, “मतदान भनेको आत्मदान र नैसर्गिक अधिकार भएकाले त्यसमा मेरो स्वतन्त्रता हुनुप-यो। दलले खोजेको गाडीमा चढेर जाँदा मैले समस्या भोग्नुपर्छ।” 

Author

केशवराज पौडेल