• ११ असोज २०८१, शुक्रबार

जनताले पाएको लाभको सञ्चार आवश्यक

blog

हिक्मतकुमार कार्की मुख्यमन्त्री, कोशी प्रदेश

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  दिनुभएको शुभकामना यस प्रकार छ:     

सङ्घीय प्रणाली अभ्यासको छोटो समयमै जनताले यसको प्रतिफल राम्रोसँग अनुभूत गर्न थालेका छन् । संविधान जारी भएको नौ वर्ष भए पनि सङ्घीयताको औपचारिक कार्यान्वयन भएको सात वर्ष भयो । यस अवधिमा कोशी प्रदेशले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । सडक, कृषि तथा पशुपालन, सिँचाइ, पर्यटन, सामाजिक सुरक्षा आदि क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । 

प्रदेश संरचना कार्यान्वयन भएपछि पूर्वाधार निर्माणमा सफलता प्राप्त भएको छ । पुँजीगत खर्च पनि तीन तहका सरकारमध्ये प्रदेशकै अब्बल रहेको छ । हामीले दाबी मात्र गरेको होइन, विश्व बैङ्कले गरेको वित्तीय सङ्घीयतासम्बन्धी अध्ययनले देखाएको तथ्य हो यो । प्रदेशले उल्लेखनीय काम गर्दागर्दै पनि समाजमा यस संरचनाका सवालमा बनिबनाउ नकारात्मक धारणा कायम रहेका छन् । प्रदेशले गरेको काम र त्यसबाट जनताले पाएको लाभका विषयमा प्रचार गर्न पछि पर्दा जनताले नकारात्मक कुरा मात्र बढी सुनेका छन् । यसले प्रदेश सरकारहरू अन्यायमा परेका छन् ।

संविधान र सङ्घीयता कार्यान्वयन गर्न समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा अगाडि बढ्नु पर्छ । प्रदेश संरचना सुरुङको यात्रा जस्तो हो, जुन दाहिनेतिर ठोक्किए सङ्घसँग, देब्रेतिर ठोक्किए स्थानीय तहसँग र अलि बढी उफ्रिन खोजे टाउको ठोक्किने जोखिमबाट बचेर काम गर्नु पर्छ । अरूसँग बनिबनाउ संरचना छन् तर प्रदेशको संरचना बनाउँदै अगाडि बढ्नु पर्छ । त्यसैले सबैसँग साझेदारी र समन्वय गर्दै काम गर्नुपर्ने देखिएको छ ।

संविधान जारी भएको १० औँ वर्षका अवसरमा यसको समीक्षा गरी अझ समृद्ध बनाउनुपर्ने आवश्यकता छ । संविधान कार्यान्वयनको गति केही सुस्त देखिएको त हो तर यो सहज ढङ्गबाट अगाडि बढिरहेको र सकारात्मक गतिमै छ । केन्द्रीकृत शासन प्रणालीबाट सङ्घीयतामा गएकाले राजनीतिक, वित्तीय र प्रशासनिक सबै क्षेत्रको मानसिकता सोही अनुरूप रूपान्तरण हुन समय लागेको मात्र हो । अब भने यसको गतिमा सुधार ल्याउन जरुरी रहेको छ । संविधान कार्यान्वयनमा भएका चुनौतीलाई स्वीकार गर्दै जानुको विकल्प छैन । 

अहिले संविधान र सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधानतर्फ लाग्नु पर्छ । संविधानले प्रदेशको अधिकार तोकिदिएको प्रहरी सङ्गठन निर्माण गर्ने, कर्मचारी भर्ना गर्ने, स्वास्थ्य र शिक्षाको क्षेत्रका कामका लागि सङ्घीय कानुन निर्माण हुन सकेको छैन । यसले पनि संविधान र सङ्घीयता कार्यान्वयनमा चुनौती खडा गरेको छ । सङ्घीय सरकारले प्रहरी समायोजनसम्बन्धी कानुन, निजामती ऐन, सङ्घीय शिक्षा र स्वास्थ्य ऐन छिटो जारी गरेर प्रदेशहरूप्रतिको बढ्दो आलोचना न्यूनीकरणमा सहयोग गर्नु पर्छ ।  

साथै वित्त आयोगले गर्ने वित्तीय बाँडफाँटको प्रतिशत बढाउनु अनिवार्य रहेको छ । अहिले प्रदेश र स्थानीय तहलाई १५/१५ प्रतिशत तथा सङ्घलाई ७० प्रतिशत आम्दानी बाँडफाँट गर्ने गरिएकोमा प्रदेश र स्थानीय तहलाई २५/२५ र सङ्घलाई ५० प्रतिशत हुने व्यवस्था गर्नु पर्छ । प्रदेशहरूले पनि आफूले प्राप्त गरेका अधिकार कार्यान्वयन गर्ने क्षमता बढाउनु पर्छ । कोशी प्रदेश सरकार आफूले पाएको अधिकार प्रयोगमा सधैँ सफल रहेको र चुनौती सामना गर्ने क्षमता प्रदर्शनमा उत्तीर्ण भइरहेको छ । उदाहरणका रूपमा भर्खरै सवारी लाइसेन्स वितरण गर्ने अधिकार पाउनासाथ तत्कालै अस्थायी लाइसेन्स उपलब्ध गराउन प्रशासनिक योग्यता यो प्रदेशले देखाइसकेको छ । 

नेपाली जनताले ठुलो त्याग र बलिदानीबाट प्राप्त गरेको गणतान्त्रिक संविधानको दशक यात्रालाई भव्य बनाई संविधान संशोधनबाट प्रदेशलाई अझ बढी बलियो बनाउनेतर्फ सबैको पहल हुनु पर्छ । राजनीतिक, प्रशासनिक र आर्थिक सङ्घीयतालाई बलियोसँग कार्यान्वयनमा लैजानु पर्छ । त्यसका लागि राजनीतिक स्थिरता, स्रोतको समुचित बाँडफाँट र प्रदेशको आन्तरिक आयवृद्धि आदि क्षेत्रमा विशेष ध्यान दिई जनताले देख्ने र महसुस गर्ने गरी संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता हुनु पर्छ । 

प्रस्तुति : शशिधर पराजुली