• २१ कात्तिक २०८२, शुक्रबार

कोरिया जान नपाउनेको विरोध

blog

फाइल तस्बिर

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक २१ गते । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै विरोध प्रदर्शन भएको छ । भाषा र सिप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दासमेत दक्षिण कोरिया जान नपाएकाले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखा घेराउ गरेका हुन् । 

सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौतासमेत नभएका कारण दक्षिण कोरिया जान पाएका छैनन् । कोरियामा श्रमिक पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले उत्तीर्ण गरेका श्रमिकलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ । वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले दुई वर्षपहिले इपिएसमार्फत दक्षिण कोरियामा सिप बिल्डङमा जान भाषा परीक्षण उत्तीर्ण गरेर जान नपाएकाले छिटो जान पाउनुपर्ने माग गर्दै कार्यालय घेराउ गर्नु स्वाभाविक भए पनि आफूहरूले मात्र चाहेर पनि पठाउन नसकिने बताउनुुभयो । 

उहाँका अनुसार दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले भाषा परीक्षा उत्तीर्ण गरेकाको रोस्टरमा नाम पठाएपछि विभाग अन्तर्गत इपिएस शाखाले अन्य प्रक्रिया गर्ने हो । रोस्टरमै नाम आउँदै नआएको अवस्था के गर्ने ? भनी उहाँले प्रतिप्रश्न गर्नुभयो । 

उहाँका अनुसार कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका सबै कोरिया जान पाउने निश्चित नहुने भएको हुँदा रोस्टरमा नाम आएको पनि ‘लेबर परमिट’ नआएसम्म जाने निश्चित हुँदैन । 

सन् २००८ देखि दक्षिण कोरियाले इपिएस प्रणालीमा ई–९ भिसा अन्तर्गत नेपाली श्रमिक लैजान थालेको थियो । हाल कोरियामा एक लाख २० हजार हाराहारीमा नेपाली श्रमिक कार्यरत छन् । 

कोरिया भाषा परीक्षा स¥यो 

रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा हुने समयको पछाडि सरेको छ । मानव संसाधन बोर्ड (एचआरडी) कोरियाले यसअघि कात्तिक २० गते (आज) देखि नेपालका लागि भाषा परीक्षा हुने अनौपचारिक मिति तय गरे पनि नेपालको सुरक्षाको कारण देखाउँदै सारेको हुन सक्ने अनुमान छ । 

विभागको इपिएस शाखाका अनुसार एचआरडी कोरियाले एक लाख दुई हजार ५१५ परीक्षार्थीका लागि तत्काल भाषा परीक्षा गराउने गरी तालिका प्रकाशित गरेको थियो । विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले यसअघि तोकेभन्दा केही समय ढिला भए पनि मङ्सिरदेखि भाषा परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । 

उहाँका अनुसार मङ्सिरबाट परीक्षा सञ्चालन गरिने अनौपचारिक जानकारी आए पनि यकिन मिति भने केही दिनपछि सूचना निकालेर जानकारी गराउँछौँ । पछिल्लो समय कोरियाले नेपालबाट ठुलो सङ्ख्यामा नेपाली श्रमिक लैजाने गरी भाषा परीक्षा गर्ने तयारी गरिरको छ । कोरियाले १७ इपिएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक माग गर्दै आएको छ । सन् २०२४ मा १४ हजार ४९२ नेपाली युवा कोरिया प्रवेश गरेका थिए ।