• २१ कात्तिक २०८२, शुक्रबार

धार्मिक आस्थासँगै प्राकृतिक सुन्दरताको संगम रेसुङ्गा

blog

गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गा । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, कात्तिक २१ गते ।
गुल्मीको धार्मिक, ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गा प्राकृतिक सुन्दरताको संगम बन्दै गएको छ । पश्चिम क्षेत्रकै एक पवित्र स्थलको रुपमा रहेको रेसुङ्गाधाम धार्मिक पर्यटकीय र प्राकृतिक सुन्दरताको संगम बन्दै गएको हो ।

धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा पौराणिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक रुपले प्रसिद्ध तीर्थस्थलका रुपमा समेत परिचित छ । रेसुङ्गा क्षेत्रको हरियाली दृश्य हेरेर पर्यटक रमाउने गर्छन् । धार्मिक तथा पर्यावरणले महत्त्व बोकेको यस क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माणसंगै यहाँ पुग्ने सडक सरसफाइ गरी चिटिक्क पारिएको छ ।

हरियाली वातावरण र रेसुङ्गा क्षेत्रबाट आकर्षक रुपमा धौलागिरी रेन्ज, अन्नपूर्ण रेन्ज, माछापुच्छ्रे, मनास्लुलगायतका विभिन्न हिमशृङ्खलाहरु देख्न सकिन्छ । रेसुङ्गामा आउने पर्यटकहरु हरियाली मनमोहक दृश्य अवलोकन गरेर निकै आनन्दित हुन्छन् । पर्यटकहरु आकर्षण गर्न रेसुङ्गा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि पन्थीले आफुले नगरप्रमुखको कार्यभार सम्हालेसँगै ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गर्नुभएको थियो । यस अभियानले रेसुङ्गा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्यमा वृद्धि भएको पाइन्छ । रेसुङ्गाधामको महापोखरी, मन्दिर र रेसुङ्गा क्षेत्रमा पर्यटकीय आकर्षणका रुपमा निर्माण भएका विभिन्न संरचनामा पर्यटकहरु पुग्छन् ।

रेसुङ्गामा रहेको महापोखरीको पवित्र जल स्नान गरी पुण्यलाभ लिई महापोखरीस्थित पशुपति शिवलाय, भोलेनाथ मन्दिर, माथि रहेका गरुडस्थान, रामकुवा, यज्ञशाला मन्दिर, राधाकृष्ण मन्दिर, सिद्धस्थान मन्दिर र विष्णुपादुका लगायतको दर्शन गरी भ्युटावरबाट तम्घासबजारसँगै छिमेकी जिल्लाका गाउँबस्ती र हिमालहरुको सुन्दर दृश्यावलोकन गरी भरपुर आनन्द लिन सकिन्छ ।

रेसुङ्गा क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडककको सहज पहुँच पुगेको छ । सदरमुकाम तम्घासदेखि करिब ३० मिनेटको दूरीमा अवस्थित रेसुङ्गाधामसम्म अहिले पक्की सडक पुगेकाले यात्रा सहज र आरामदायी बनेको छ । यहाँ गुल्मीका विभिन्न स्थानका साथै अर्घाखाँची, पाल्पा, स्याङ्जा र बागलुङलगायतका छिमेकी जिल्लाबाट समेत पर्यटकहरु आउने गर्दछन् ।