• ११ असोज २०८१, शुक्रबार

समन्वय नहुँदा बसपार्क निर्माण ढिलो

blog

निर्माणाधीन तानसेनको बसपार्क । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, असोज २ गते । तानसेनको गौरवको योजनाका रूपमा अघि बढेको नयाँ बसपार्क निर्माणको काम समयमै नसकिने भएको छ । निर्माण व्यवसायी र नगरपालिकाबिच समन्वय अभाव हुँदा बसपार्क निर्माण समयमै नसकिने निश्चित भएको हो । 

नयाँ प्रविधि अनुसार निर्माण अघि बढेको बसपार्क प्राविधिक डिजाइनमा भइरहने परिवर्तनले समस्या निम्त्याएको हो । १८ महिनाभित्र काम सकिने गरी २०८० साल वैशाख ७ गते ‘स्वयम्भु–रेड–हमाल प्रालि’ सँग ठेक्का सम्झौता भएको थियो । बसपार्क निर्माणका लागि नगर विकास कोषको ७० प्रतिशत र तानसेन नगरपालिकाको आन्तरिक स्रोत २५ प्रतिशत गरी कुल १८ करोड ३२ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

नयाँ प्रविधि अन्तर्गत बसपार्क निर्माण गर्न प्राविधिक आइरहेको तानसेन नगरपालिकाले जनाएको छ । डिजाइन र प्राविधिक समस्याका कारण निर्माणमा केही समय ढिला भएको नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । १४ महिनाको अवधिमा बसपार्क निर्माणको काम २५ प्रतिशत सकिएको छ । फिल्डमा भौतिक रूपमा १५ प्रतिशत र थप बाहिरी रूपमा बनाउनुपर्ने सामग्री बनेर भण्डारण भइसकेकाले २५ प्रतिशत काम सकिएको श्रेष्ठले बताउनुभयो । निर्माण व्यवसायीले गरेको कामका आधारमा हालसम्म तीन करोड ९० लाख भुक्तानी भइसकेको छ ।

बसपार्क निर्माणमा भएको ढिलाइले थप एक वर्ष समयावधि लम्बिने भएको छ । अबको चार महिनाभित्र सबै काम सकिने सम्भावना नरहेको निर्माण व्यवसायीले बताएका छन् । आफूले बसपार्क निर्माणका लागि आवश्यक सबै सामग्रीको भण्डारण गरिसकेको तर नगरपालिकाबाट डिजाइन आउन ढिला हुँदा समयमै काम नसकिने निश्चित भएको ‘स्वयम्भु–रेड–हमाल प्रालि’ का प्रतिनिधि ऋषिराम लुइटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले पटक पटक डिजाइन परिवर्तन गरिरहँदा बसपार्क निर्माणको काम समयमै सक्न समस्या भएको छ ।”

बसपार्क बनाउने स्थान भिरालो जग्गामा रहेकाले पर्खाल (रेनफोर्सड अर्थ रिटेनिङ वाल) बनाउने कार्य भइरहेको छ । बर्सातले पनि काममा ढिलाइ भएको छ । बसपार्कको कुल काममध्ये ७० प्रतिशत काम पर्खाल बनाउने रहेको छ भने नयाँ प्रविधि अनुसार बनाइएका पर्खाल निर्माण स्थलमा ल्याइएको छ । तानसेनको वनदेवीमा बसपार्क बनाउन चार वर्षअघि एक सय रोपनी जग्गाको सल्लाका रुख काटेर व्यवस्था गरिएको थियो । नयाँ बन्ने बसपार्कमा साना तथा ठुला सवारीसाधन पार्किङ गर्न सकिने टर्मिनल, सवारीसाधन निर्माण गर्ने ग्यारेज, यात्रुका लागि आवश्यक सहायता कक्षा, यातायात व्यवसायी कम्पनीका कार्यालय राख्ने योजना छ । 

बसपार्क बनेपछि यात्रुलाई सहज रूपमा सेवा दिने गरी विभिन्न खालका पसलसमेत सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । बसपार्क बनेपछि तानसेनमा ट्राफिक समस्या हट्ने र बजार व्यवस्थापनमा सहजता आउने उहाँले बताउनुभयो । तानसेनमा २०३२ सालमा निर्माण भएको बसपार्क साँघुरो भएका कारण हाल सवारीसाधन पार्किङ गर्न समस्या भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।