• ११ असोज २०८१, शुक्रबार

अनलाइन व्यवस्थाले सेवाग्राहीलाई सहज

blog

वालिङ समाचारदाता 

वालिङ, असोज २ गते । स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासन कार्यालयले राहदानीका लागि फाराम भर्ने प्रक्रिया कार्यालयभित्रबाटै सहज रूपमा गर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले राहदानीको फाराम कार्यालयभित्रबाट भर्न पाउने छन् भने फोटोकपी, इमेललगायतका सुविधा कर्मचारीको सहयोगमा लिन पाउने छन् । निःशुल्क सेवा लिन पाएपछि वालिङ, गल्याङ, चापाकोट, भिरकोट, हरिनासलगायत सेवा क्षेत्रका सेवाग्राहीलाई प्रत्यक्ष फाइदा पुगेको छ । 

राहदानीका लागि सेवाग्राहीले भरिने आवेदन फारामका लागि कार्यालय वरपरका व्यवसायीले छ सयदेखि आठ सय रुपियाँसम्म असुल्दै आइरहेका थिए । फाराम भर्ने क्रममा व्यवसायीले मनपरी शुल्क लिँदा नागरिक ठगिएको गुनासो आएपछि कार्यालयभित्रबाटै निःशुल्क भर्ने व्यवस्था मिलाइएको इलाका प्रशासन कार्यालयका प्रमुख सुभास पौडेलले बताउनुभयो । 

राहदानीको फाराम भर्दा एकातिर झन्झट र अर्कातिर अनावश्यक पैसा खर्च भइरहेको भन्दै प्रशासनले सहज व्यवस्था मिलाएको हो । कार्यालयमा कामको अत्यधिक चाप र कर्मचारीको अभावका बाबजुद भएका कर्मचारीको सामूहिक प्रतिबद्धताले राम्रो कामको सुरुवात गर्न सकिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । इलाका प्रशासनमा दैनिक ३० देखि ४० जनासम्म राहदानीका लागि आउने गरेका प्रमुख पौडेलको भनाइ छ । 

उहाँले भन्नुभयो, “फाराम पनि कर्मचारीले नै भरिदिए आवश्यक पर्ने कागजातको फोटोकपी पनि भित्रैबाट निःशुल्क गर्न पाएँ,” निकै सजिलो भयो ।” कर्मचारीको अभाव र सेवाग्राहीको चापका बाबजुद पनि नयाँ काम सुरु गरेको कार्यालयका सूचना अधिकारी बुद्धिराम बुढाले बताउनुभयो ।