• ८ मंसिर २०८१, शनिबार

यस वर्षको सङ्कट टरेको आशा

blog

बाबुराम कार्की 

वराहक्षेत्र, असोज २ गते । वराहक्षेत्र नगरपालिका–६, ९ र बेलका नगरपालिका–२ र ३ वडाको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टप्पुवासी वर्षा सकिएसँगै सन्तोषको सास फेर्न थालेका छन् ।

हरेक वर्षकोे जेठ, असार, साउन, भदौसम्मको वर्षायाममा सप्तकोशी नदीमा बढ्ने पानीको सतहले बस्ती नै पानीमा विलिन हुने हो कि भन्ने त्रासबाट यस वर्षका लागि भने मुक्त भएको स्थानीयवासी बताउँछन् ।  

हरेक वर्षायाममा नदीले कटान गर्दै आएकाले टप्पु क्षेत्र साघुरिँदै गए पनि यस वर्षको वर्षा कम भएसँगै कटान रोकिँदै गएको छ । यस वर्ष वर्षामा मात्रै यस क्षेत्रको करिब २५ बिघाभन्दा बढी खेतीयोग्य जमिन नदीको कटानमा परेको थियो । यहाँका जलाल, शिशौली घाट, चिलैया र गरैया बस्ती कटानमा पर्दै आएका छन् । प्रत्येक वर्ष नदीमा आउने भेलले यसरी नै कटान गर्दै जाने हो भने केही वर्षपछि टप्पुको नामोनिसाना नै नरहने ५७ वर्षीय बद्री राई बताउनुहुन्छ । 

हरेक वर्षामा बासस्थान नै जोखिममा पर्ने हुँदा टप्पुवासी आफ्ना घर नदी उकास क्षेत्रमा सार्न बाध्य हुन्छन् । बढ्दो कटानसँगै यहाँका बासिन्दाको आसा पनि खुम्चिँदै गइरहेको गरैया टोलका विनोद मण्डल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घर सारियो, खेती बगाएर लगिहाल्यो । यही परिवार र ज्यान बचेको छ । कसरी पालिने ? अर्काे पटक फेरि नदी उसै गरी उर्लिएर आउँछ नै । त्योबाट बच्ने कसरी ? अहिलेलाई त कटानको सङ्कट ट-यो तर नदीको कटानले ल्याएको सङ्कटलाई कसरी समाधान गर्ने ?”

यहाँका बासिन्दाले नदीको कटानमा परी आफ्नो थातथलो गुमाए पनि कतैबाट क्षतिपूर्ति र मुआब्जा पाउँदैनन् । कटानको पीडामा मलम लगाउने कुनै पनि निकाय यहाँ नपुग्ने बद्री राई बताउनुहुन्छ । नदी कटानमा परी घरखेत गुमाएका र टप्पुवासीलाई नै सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिनुपर्ने उहाँको माग छ । 

कुनै समय चारैतिरबाट कोशी नदी सुसाउँदै बगिरहने ठन्डा हावा, पानी र स्वच्छ वातावरण भएकैले सबैको रोजाइमा पथ्र्याे श्रीलङ्का टप्पु तर बर्सेनि सप्तकोशी नदीको तीव्र कटानमा पर्न थालेपछि भने यहाँका बासिन्दालाई चिन्ता पारेको छ । उनीहरू आफ्नो जायजेथा न चटक्कै छोडेर हिँड्न सकेका छन् न विश्वस्त भएर बसोबास गर्न नै सकेका छन् । 

यहीँ खेती किसानी गरेर बस्नुभएका सन्तोष मण्डल भन्नुहुन्छ, “आफू बसेको थातथलो छोडेर जाने ठाउँ पनि हुनु प-यो नि । धेरै जसो टप्पुवासीका अन्यत्र जग्गाजमिन नभएकाले छोडेर जान सकेका छैनन् । यहाँ हाल सात हजारभन्दा बढीको सङ्ख्यामा मानिस बसोबास गर्दै आएको वराहक्षेत्र नगरपालिका वडा नम्बर–६ का उद्धव पोख्रेलले बताउनुभयो ।