• ११ असोज २०८१, शुक्रबार

अन्तुको झल्को दिने ध्वजेडाँडा

blog

कविराज घिमिरे

हिले, असोज २ गते । सूर्योदयको दृश्यावलोकनका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५, डाँडाबजारस्थित ध्वजेडाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ । समुद्र सतहबाट दुई हजार ४७ मिटरको उचाइमा रहेको यो डाँडा महाभारत पर्वत शृङ्खला अन्तर्गत यस क्षेत्रको दोस्रो अग्लो डाँडा हो । 

खास गरी यो सिजनमा सूर्योदयको मनोरम दृश्य हेर्न आसपासका पर्यटक यहाँसम्म पुग्ने गरेका छन् । अन्तु र ध्वजेडाँडा दुवै ठाउँ पुग्ने पर्यटक सूर्याेदयको दृश्य अन्तु र यहाँबाट उस्तै देखिने बताउँछन् । यहाँबाट सूर्याेदयसहित पूर्वका अधिकांश जिल्ला, तराईका फाँट, विभिन्न पर्वत शृङ्खला, विभिन्न हिमशृङ्खला देख्न सकिने स्थानीय सुनिता लिम्बू बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घाम झुल्कनुअघि हिमालमा देखिने रङ्गिन दृश्यले सबैलाई मोहित पार्छ ।”

सूर्योदय हेर्न पछिल्लो समय दैनिक सयौँ पर्यटक इलामको अन्तु पुग्ने गरेका छन् । पर्यटकीय सिजनका बेला त अन्तुमा पाइलासमेत राख्ने ठाउँ हुँदैन तर अन्तु जस्तै धनकुटाको ध्वजेडाँडामा भने पूर्वाधार र प्रचारप्रसार अभावका कारण निकै कम पर्यटक पुग्ने गरेका छन् । पूर्वको पर्यटकीय नगरी भेडेटारबाट १३ किलोमिटर पूर्व तथा धनकुटाको डाँडाबजारबाट एक किलोमिटरमाथि रहेको छ तर डाँडा आसपास सुविधासम्पन्न होटेल नहुनु, सडकलगायतका पूर्वाधार तथा खानेपानी र प्रचारप्रसार अभावका कारण प्रशस्त सम्भावना हुँदाहुँदै पनि पर्यटक यहाँसम्म पुग्न नसकेको स्थानीय नीलम लिम्बू बताउनुहुन्छ । 

 यहाँ ध्वजेडाँडासहित डाँडाबजारस्थित लाप्चेटारमा रहेको अजङ्गको बरको रुख पर्यटकककका लागि आकर्षकको केन्द्र हो । यो बरको रुखलाई एसियाकै दोस्रो ठुलो रुखका रूपमा रहेको स्थानीयको दाबी छ । त्यस्तै ध्वजेडाँडाको छेउमा निर्माण गरिएको जैतुन पार्कले समेत पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ पर्यटक भिœयाउन होमस्टे, सडकलगायतका पूर्वाधार निर्माणको काम भइरहेको साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष खड्ग लिम्बू बताउनुहुन्छ ।  

नेपालको नक्सा निर्माणमा अक्षांश र देशान्तर टुङ्गो लगाउन विशेषज्ञले समेत यो डाँडालाई प्रयोग गर्ने गरेको विकिपिडियामा समेत उल्लेख छ । यो डाँडासँगै रहेका वनमा विभिन्न ढाल्ने, कटुससहित लेकाली वनस्पति र जन्तुसमेत पाइन्छ ।