• ११ असोज २०८१, शुक्रबार

बस आउने दिन कुर्दै पाटीगाउँवासी

blog

पाटीगाउँबाट धनकुटाको डाँडाबजार निस्किने कच्ची सडक । यही सडक हुँदै पाटीगाउँ बस जान लागेको हो । तस्बिर : हरिप्रसाद कोइराला

उर्लाबारी समाचारदाता

उर्लाबारी, असोज २ गते । मोरङको केराबारी–१, पाटीगाउँबाट असोज २ गतेदेखि दैनिक यात्रुवाहक बस सञ्चालनमा आउने भएपछि त्यो दिनको पर्खाइमा पात्रो हेरेर बसिरहेका छन् । हालसम्म साना गाडी मात्र गुडिरहेको सडकमा बस गुड्ने भएपछि स्थानीय हर्षित भएका हुन् । 

केराबारी–१ का वडाध्यक्ष शरण थापामगरका अनुसार पाटीगाउँबाट बिहान ७ बजे डाँडाबजार भेडेटार हुँदै धरान जाने र बेलुका साढे ३ बजे फर्कंने गरी एउटा यात्रुवाहक बस सेवा सुरु गर्न लागिएको हो । त्यस्तै हाल साना गाडीले पाँच सय रुपियाँ प्रतिव्यक्ति भाडा लिँदै आएको थियो । बसले ३५० रुपियाँ लिने भएको छ । यस्तै तरकारी, फलफूल प्रतिकेजी छ रुपियाँमा ढुवानी हुँदै आएकोमा अब चार रुपियाँ केजीमा ढुवानी हुने भएको छ । 

केराबारी–१, कारबारीकी कुलमाया मगरले भन्नुभयो, “बस चल्ने भएपछि हामी खुसी छौँ । तरकारी फलफूल कुहिएरै सकिन्थ्यो । ढाकर र ट्याक्सी भाडा महँगो पर्दा उपभोक्ता मूल्यसमेत उच्च हुन्थ्यो । 

डाँडागाउँका बुद्धवीर लिम्बूले भन्नुभयो, “एक पटक ट्याक्सी र भरिया लगाउने खर्चले दुई पटक तरकारी फलफूल मधेशमा बिव्रmी गर्न पाइने भयो । अरू दुई÷तीन वटा बस चलाएर पाटीगाउँको पर्यटन र कृषि उपजको प्रवर्धन गर्नुपर्ने लिम्बूको भनाइ छ । पाटीगाउँकी लीला मगर गाउँमा बस आएको हेर्न आतुर हुनुहुन्छ । लीलाले मोरङको भूगोलभित्र बसेर गाउँमा बस आएको हेर्न कुरिरहेका छौँ, मोरङको पाटीगाउँबाट आफ्नै जिल्ला हुँदै केराबारी गाउँपालिका पुग्ने रहर भएको बताउनुहुन्छ । 

मोरङको केराबारी–१, पाटीगाउँबाट गाउँपालिकाको मुख्यालय केराबारी बजार आउने सडक बाटो छैन । बिचमा थुप्रै खोलानाला छन् । ती खोलानालामा पुल छैनन् । कतिपय स्थानमा सडकको ट्र्याकसमेत छैन । त्यसैले पाटीगाउँवासी पालिकाको सेवा लिन धनकुटाको डाँडाबजार निस्केर भेडेटार हुँदै धरान झर्छन् । धरानबाट मदन भण्डारी राजमार्ग हुँदै केराबारी आउने गर्छन् । पाटीगाउँबाट धरान झर्न ४५ किलोमिटर र धरानबाट केराबारी पुग्न आठ किलोमिटर दुरी तय गर्नु पर्छ । 

मदन भण्डारी राजमार्ग सञ्चालनमा आएकाले धरानबाट केराबारीको दुरी केही घटेको छ । अन्यथा धरानबाट १७ किमी दक्षिण झरेर इटहरी गई पूर्वपश्चिम राजमार्गको मोरङको खोर्सानेबाट १० किमी उत्तर लाग्नुपथ्र्यो । इटहरीबाट खोर्साने १२ किमी पूर्वमा पर्छ । यति यात्रा तय गर्दा आउजाउको मात्र एक हजार पाँच सय रुपियाँ खर्च हुन्छ । दिन माया मार्नु पर्छ ।  

वडाध्यक्ष शरण थापामगरले भन्नुभयो, “जनश्रमदानबाट आव २०६५÷६६ मा सडकको ट्र्याक खोलेका हौँ । तत्कालीन जिविस मोरङले चार लाख रुपियाँ दिएर आठ किलोमिटर सडकलाई केही सुधार ग¥यौँ । त्यो पनि स्थानीय सहभागितामा, त्यसयता सडक निर्माणका लागि केराबारी गाउँपालिकाले ३५ लाख रुपियाँ खर्च गरेको छ तर पहाडको सडक पहिरोले छिनभरमा बिगार्छ । बस गुड्न सक्ने गरी कहिल्यै बनाउन सकिएन ।” 

वडाध्यक्ष मगरले भन्नुभयो,  “धनकुटाको डाँडाबजार निस्किने आठ किलोमिटर कच्ची सडक मोरङ खण्डमा पर्छ । यो सडक बनाउन सके मात्र पनि पाटीगाउँवासीको भाग्य कोरिने थियो ।”