• ११ असोज २०८१, शुक्रबार

आशा भोसलेसँग मोहनले गाए

blog

काठमाडौँ, असोज २ गते । रन्जित गजमेरको सङ्गीतमा गायक मोहन राईले ‘यो हाम्रो माया’ बोलको गीत रेकर्ड गराउनुभएको छ । मुम्बईमा गरिएको रेकर्डमा ९२ वर्षीय गायिका आशा भोसलेले गायक मोहनसँग युगल गायन गर्नुभएको छ । यो गीत टेक तामाङले लेख्नु भएको हो ।   

नेपाली गीत गायनमा आशा भोसलेको स्वर निकै रुचाइन्छ । ‘झरी बनी आएछ सावन’ लगायत दर्जनौँ नेपाली गीतमा आशाको सुमधुर स्वर सुन्न सकिन्छ । 

विभिन्न भाषाका १५ हजारभन्दा बढी गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेकी आशासँग युगल गायन गर्न पाउनु आफ्नो सबैभन्दा महत्वपूर्ण दिन भएको गायक राईले बताउनुभयो । 

उनीसँगै गीत गाउने नेपाली कलाकारको सङ्ख्या नगन्य छ । गायक राईले कैलाश खेरको कैलाशा स्टुडियो मुम्बईमा गीत रेकर्ड गराउनुभएको थियो । गायक राईले भन्नुभयो, “आशा दिदीलाई नेपाली सङ्गीतमा भित्र्याउने रन्जित गजमेरकै सामीप्यमा रहेर गीत रेकर्ड गराएका हौँ । केही महिनाभित्र गीत सार्वजनिक गर्ने छौँ ।”

राष्ट्रिय भावका गीत गाउन रुचाउने मोहनले तेस्रो गीतिएल्बमको तयारी गरिरहनुभएको छ । यसअघि मोहनले ‘मायाको खेल’ र  ‘कस्तो सपना’ एल्बम ल्याउनुभएको थियो ।