• ११ असोज २०८१, शुक्रबार

दाना र चोकरको आयात घटाउन घाँस खेती प्रवर्धन कार्यक्रम

blog

घाँस खेती गर्ने म्याग्दे गाउँपालिका–१, गुणादीका कृषक बामदेव खनाल ।

अमरराज नहर्की

तनहुँ, असोज २ गते ।  पशुपालनमा लागत घटाउन तनहुँमा घाँस खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी तथा पशुसेवाविज्ञ केन्द्र तनहुँले सो कार्यक्रम सञ्चालन गरेको हो । दाना तथा चोकरभन्दा घाँस खुवाएर पाल्दा कृषकलाई लागत मूल्य कम पर्ने भएकाले कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख डा. राजेशकुमार चौधरीले बताउनुभयो । 

बाहिरबाट आयात गरिएको दाना र चोकर खरिद गर्दा लागत मूल्य धेरे हुँदा जमिन बाँझो राख्ने क्रम बढेपछि तनहुँमा पशुपालनमा प्रोत्साहन गर्न घाँस खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । साथै घाँसलाई बाँदरले नोक्सान नगर्ने भएकाले कार्यक्रम ल्याइएको हो । घाँस खेती गर्नेलाई प्रतिरोपनी तीन हजार अनुदानको व्यवस्था गरिएको चौधरीले बताउनुभयो । अनुदानका लागि कार्यालय तोकेका नेपिएर, मठ नेपिएर, सुपर नेपिएर, रेड नेपिएर डाँले घाँस लगाउनुपर्ने प्रावधान राखिएको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार बाँझो जमिनको सदुपयोग हुने र पशुचौपायका लागि दानामा कम खर्च हुने भएको गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग कार्यक्रम ल्याइएको हो । चालु आर्थिक वर्ष २०८१/८२ मा आवमा दुई सय रोपनी जमिनमा घाँस खेती गर्न छ लाख रुपियाँ निकासी भएको छ ।