• ११ असोज २०८१, शुक्रबार

विषादी न्यूनीकरणमा सबैको सहयोग आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिकोत्सव कार्यक्रममा मन्त्री अधिकारीले तरकारीमा विषादी न्यूनीकरण गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्री वा मन्त्रालयले मात्र पहल गरेर सक्दैन । यसमा किसान, व्यापारी र उपभोक्ताले समेत आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । 

उहाँले कार्यक्रममा उपस्थित किसान तथा विक्रेतालाई विषादी न्यूनीकरणका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले किसान र सम्बन्धित निकायबिच निकटता भए मात्र किसानका समस्या समाधान हुने बताउनुभयो । उहाँले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्य पूरा हुन नसक्ने धारणा राख्नुभयो । 

आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दुध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको बताउँदै उहाँले कृषि उपजको उत्पादनसँगै बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने  आफ्नो चाहना रहेको बताउनुभयो । किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तै कृषि बजारको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिनुभयो ।