अर्जुन काफ्ले
स्याङ्जा, भदौ ३१ गते । भीरकोट नगरपालिका–१ का वडा सदस्य खुमबहादुर खाँणका दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नदीजन्य सामग्री अवैध रुपमा ओसारपसार गरेको अवस्थामा प्रहरीले यी दुई ट्याक्टर नियन्त्रणमा लिएको हो ।
अवैध ओसारपसारमा संलग्न ग १ त ७३३७ र प्र २–०३–००१ त ४०१० नम्बरका दुई वटा ट्याक्टलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि स्थानीय तह रहेको भीरकोट नगरपालिकालाई जिम्मा दिएको डिएसपी रानाले बताउनुभयो।
भीरकोटमा छाङ्छाङ्दी, बयरघारी र हेलु आसपासका क्षेत्रमा नदीजन्य सामग्री रातीको समयमा अवैध चोरी निकासी भैरहेको सूचनाका आधारमा दहथुम प्रहरी चौकीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
सवारी धनी एवम् भीरकोट नगरपालिका १ का जनप्रतिनिधि वडा सदस्य खाँणको मिस्कट तथा बालुवा रहेको र ढुङ्गाको स्टक प्रमाणित नहुनुका साथै खरिद गरिएको बिलसमेत नभएकाले नियन्त्रण लिइएको दहथुमका प्रहरी नायब निरीक्षक प्रमोद कँडेलले बताउनुभयो ।