• २१ कात्तिक २०८१, बुधबार

कुन खानेकुरामा कस्तो भिटामिन पाइन्छ

blog

काठमाडौँ, असाेज २२ गते । भिटामिन र मिनिरल शरीरमा नभई नहुने आवश्यक तत्त्व हुन्। स्वास्थ्य शरीर निमार्णको लागि भिटामिन र मिनिरल आवश्यक पर्छ । 

शरीरलाई रोगबाट सुरक्षित राख्नुका साथै, सामान्य कार्य गर्न देखि शरीरको वृद्धि विकासको लागि भिटामिन र मिनिरल नभई नहुने तत्त्व भएको पोषणविद् बताउँछन् ।  

भिटामिन र मिनिरलको अभावले शरीरमा विभिन्न स्वास्थ्य समस्या उत्पादन हुने गर्दछन् । जस्तै भिटामिन ‘ए’ को समस्याले आँखा सम्बन्धी समस्या देखिने, भिटामिन ‘डी’ को कमीले हड्डी कमजोर हुने, भिटामिन ‘सी’ को कमीले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्छ । त्यसै, आयोडिनको कमीले हर्मोनमा गडबडी हुने, आइरनको कमीले रातो रगत कम हुने जस्ता स्वास्थ्य समस्या निम्तने गर्दछन् । 

पोषणविद् प्रा.डा. उमा कोइराला सही मात्रमा भिटामिनको प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नुका साथै शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्ने बताउनुहुन्छ । त्यसैगरी,  मिनिरलले शरीरलाई सन्तुलन राख्न मद्दत गर्छ ।  

उहाँका अनुसार भिटामिन वनस्पति र जनावरबाट प्राप्त गर्न सकिन्छ । मिनिरल खनिज तत्त्वहरू जस्तै माटो, पानी, जैविक पदार्थबाट प्राप्त गर्न सकिन्छ । कतिपय अवस्थामा सन्तुलन भोजनबाट मिनिरल बन्ने गर्छ । 

भिटामिन दुई प्रकारका हुन्छन् 

पानीमा घुलनशील र चिल्लोमा घुलनशील गरी भिटामिन दुई प्रकारका हुने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार चिल्लोमा घुलनशील भिटामिन चार प्रकारका हुन्छन् । भिटामिन ‘ए’,‘डी’,‘इ’,‘के’ चिल्लोमा घुलनशील भिटामिनमा पर्ने डा. कोइराला बताउनुहुन्छ । भिटामिन ‘सी’, र भिटामिन ‘बी’को समूहमा पानीमा घुलनशील हुने कोइरालाको भनाई छ । भिटामिन सामान्य कार्य देखि शरीर वृद्धि विकासको लागि नभई नहुने तत्त्व हुन् । 

उहाँका अनुसार शरीरलाई थुप्रै प्रकारका मिनिरल चाहिन्छ । खनिज तत्त्वबाट प्राप्त हुने मिनिरल पनि दुई भागमा विभाजन गरिन्छ । क्याल्सियम, आइरन जस्ता मिनिरल शरीरमा धेरै मात्रामा आवश्यक पर्छ भने आयोडिन, जिङ्क पोटासियम जस्ता मिनिरल थोरै मात्रा भए पनि पुग्ने पोषणविद् डा. कोइरालाको भनाइ छ । 

शरीरमा आवश्यक मात्रमा भिटामिन, मिनिरल भएमा रोग प्रतिरोधात्मक क्षमताको विकास भई विभिन्न रोग लाग्नबाट बचाउने पोषणविद् प्रा.डा. कोइराला बताउनुहुन्छ ।

दैनिक रूपमा प्रयोग गर्ने विभिन्न साग सब्जी, फलफूलबाट अलग/अलग भिटामिन र  मिनिरल पाउन सकिने पोषणविद् डा.कोइरालाको भनाइ छ ।  

कुन खानेकुरामा कस्तो भिटामिन पाइन्छ 

 भिटामिन ‘ए’ 

छाला, आँखा र शरीरको वृद्धिका लागि भिटामिन ‘ए’  आवश्यक पर्छ । भिटामिन ‘ए’का स्रोतमा गाजर, भटमास, लौका, टमाटर, हरियो तरकारी, आँप, मेवा, माछाका, सखर खण्डा, दुध, गाजर, आँप, रङ्गिन फलफूल, कलेजो, समुन्द्रमा पाइने खानेकुरामा प्रशस्त मात्रमा पाइने डा. कोइराला बताउनुहुन्छ । 

 भिटामिन ‘डी’ 

भिटामिन‘डी’ ले हड्डी बलियो बनाउन मद्दत गर्छ । डा. कोइरालाका अनुसार भिटामिन ‘डी’ अन्न र माछा र समुन्द्री खानबाट प्राप्त गर्न सकिन्छ । उहाँका अनुसार भिटामिन ‘डी’ विशेषगरी बोसो भएको माछामा पाइन्छ । सूर्यको किरणबाट पनि भिटामिन ‘डी’  प्राप्त गर्न सकिन्छ । विभिन्न अध्ययनहरूले घाममा राखेको च्याउमा पनि भिटामिन ‘डी’को स्रोत हुने देखाएको छ । 

 भिटामिन ‘ई’ 

भिटामिन ‘ई’  मा एन्टिअक्सिडेन्ट पाइने हुँदा कोषिकाहरूलाई क्षति हुनबाट बचाउँछ । भिटामिन ‘ई’ को स्रोतमा बिउ जस्तै रायो, तोरी, सिमी, बदाम, ओखर जस्ता खानेकुरामा प्रशस्त मात्रामा पाइन्छ । त्यसका अलावा हरियो सागपातमा पनि पाइने पोषणविद् डा. कोइरालाको भनाइ छ ।  

भिटामिन ‘के’ 

भिटामिन ‘के’ ले रगत जमाउन मद्दत गर्छ जसले चोटपटकपछि रक्तस्रावलाई रोक्न मद्दत गर्छ । डा. कोइरालाका अनुसार बन्दा गोभी, अण्डा, दुध, पालुङ्गो, ब्रोकाउली जस्ता खानेकुरामा पाइन्छ । त्यसका अलावा कर्कलोमा भिटामिन ‘के’ पाइन्छ । 

भिटामिन ‘बी’

भिटामिन ‘बी’ ले  खाएको खानाबाट ऊर्जा प्राप्त गर्न मद्दत गर्छ । भिटामिन ‘बी’ (‘बी’ १, ‘बी’ २, ‘बी’३, ‘बी’६,‘बी’९ र ‘बी’ १२) शरीरमा नभई नहुने भिटामिन हुन । भिटामिन ‘बी’ मकै, कोदो, गहुँ, फापर, कालो दाल चना जस्ता खानेकुरामा धेरै पाइन्छ । त्यसका अलावा दुधमा, खरबुजा, दहीमा, च्याउमा, ब्रोकाउली, एभोकाडा, आलुमा, खसीको मासु, माछामामा प्रशस्त मात्रामा पाइने उहाँ बताउनुहुन्छ । 

भिटामिन ‘सी’ 

भिटामिन‘सी’ले रोग रोग प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गर्छ । भिटामिन ‘सी’ सबै अमिलो फलफूलमा पाइन्छ । डा. कोइरालाका अनुसार  भिटामिन ‘सी’ स्रोतमा सुन्तला, मौसमी, अङ्गुरमा पाइन्छ । त्यसका अलावा अङ्कुरण भएका दानाहरू जस्ता मुंगदाल, चना हरियो र रातो खुर्सानी, लटे, तोरीको साग, मरीच, उसिनेको आलु, टमाटर, अमला, कागतीमा भिटामिन ‘सी’ पाइन्छ । 

 शरीरमा मिनिरलले के गर्छ ?

क्याल्सियम

डा. कोइरालाका अनुसार शरीरमा सबै भन्दा बढी क्याल्सियम आवश्यक पर्छ । क्याल्सियमको कमीले हड्डी र दाँत स्वास्थ्यलाई आवश्यक पर्छ । क्याल्सियमले रगत जमाउन मद्दत गर्छ । क्याल्सियम दही, दुध, हरियो सागपातमा प्रशस्त मात्रामा पाइन्छ । फापर, कोदो जस्ता खानेकुरामा पाइने उहाँको भनाई छ ।  

म्याग्नेसियम

म्याग्नेसियमले शरीरलाई ऊर्जा उत्पादन गर्न मांसपेशी र नसालाई आवश्यक पर्छ ।  म्याग्नेसियम तरकारी, हरियो सागपातमा पाइन्छ । बोक्रा नफालेको अन्नहरूमा धेरै मात्रामा पाइन्छ । म्याग्नेसियम दाल गेडागुडी,गहुँ, मकै जस्ता अन्नबाट प्राप्त गर्न सकिने उहाँ बताउनुहुन्छ । 

पोटासियम

पोटासियमले शरीरमा पानीको सन्तुलन कायम राख्न मद्दत गर्छ । उहाँका अनुसार दुध, फलफूल, गेडागुडीमा पोटासियम पाइन्छ ।  

सोडियम

सोडियमले रक्तचाप सन्तुलन राख्न मद्दत गर्छ । हामीले नुन खाने हुँदा नुनबाट सोडियमको पूर्ति हुन्छ । तरकारीमा सोडियम पाइन्छ ।  

आइरन

आइरनले रेड ब्लड सेलमा रहेको हेमोग्लोबिनको निमार्णमा मद्दत गर्छ । जसले शरीरमा  अक्सिजन प्रदान गर्छ । शरीरमा आइरनको कमी भएमा एनिमिया हुन्छ । यो हरेक मानिसलाई असर गर्ने गर्छ । त्यसैले आइरनको रेगुलर सप्लाई गर्नुपर्छ । आइरन रातो मासु र कुखुरा, हाँसको मासुमा पनि पाइने गर्छ ।  त्यसका अलावा अण्डा, रङ्गी बगिरङी फलफूलमा, केरा, अम्बा, अनार, नास्पाती,स्याउ, अमला जस्ता खानेकुराबाट प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो ।  

 जिङ्क

जिङ्कपनि महत्त्वपूर्ण मिनिरल हो । यसले रो प्रतिरोधात्मक  क्षमता बढाउनुका साथै डिएनए र प्रोटिन उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्छ । जिङ्क जनावरीय खानबाट प्रशस्त मात्रामा पाइन्छ । उहाँका अनुसार गेडागुडीबाट, ब्रोका नफालेको खानेकुराबाट पाइने गर्छ । चना, कालो, दालमा जिङ्क पाइने उहाँ बताउनुहुन्छ । 

भिटामिन र मिनिरलको अन्तरसम्बन्ध हुने हुँदा खाना खाँदा सन्तुलन मिलाएर खानुपर्ने डा. कोइरालाको सुझाव छ । उहाँ भन्नुहुन्छ,“खानाको अन्तरसम्बन्ध हुन्छ । रगत बढाउन आइरनको आवश्यक पर्छ । तर आइरन खाएर मात्र रगत बन्दैन । शरीरमा आवश्यक मात्रमा काब्रोहाड्रेड, प्रोटिन, भिटामिनको आवश्यक पर्ने हुँदा सन्तुलन भोजन खानुपर्छ ।” 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।