• २१ पुस २०८१, आइतबार

७६ वर्षमा नागरिक हुनुभयो भिममाया

blog

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई भिममाया श्रेष्ठलाई नागरिकताको प्रमाण पत्र दिँदै । तस्बिर : गोरखापत्र

हरि कोइराला

उर्लाबारी, भदौ ३० गते । न शरणार्थी, न तेस्रो देशबाट आएको पर्यटक । तर, पनि पहुँच नपुगेर नागरिकताबाट वञ्चित हुनुभएकी मोरङको पथरीशनिश्चरे–९ की ७६ वर्षीया भिममाया श्रेष्ठले आइतबार नेपाली नागरिकता पाउनुभयो । 

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईबाट उहाँले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्नु भएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बास्कोटाले सनाखत गरेर उहाँलाई नागरिकता दिलाइएको हो ।

वडा कार्यालय पथरीशनिश्चरे–९ ले गरेको सिफारिस र सरजमिन मुचुल्काका आधारमा भिममायालाई नागरिकता दिइएको हो । एमाले केन्द्रीय सदस्य बास्कोटाले भन्नुभयो, ‘‘सबै प्रक्रिया पुगेर पनि सनाखत गर्ने उहाँका आफन्त उपलब्ध हुनु भएन, त्यसैले मैले नै सानाखत गरिदिएको हुँ ।’’ 

बास्कोटाकाअनुसार आइतबार पनि भिममाया नागरिकता दिँदैनन् भनेर जिल्ला प्रशासन कार्यालय जान मान्नु भएको थिएन । हामीले धेरै सम्झाएर उहाँलाई लगेका हौँ । जीवनको उत्तरार्धमा नागरिकता प्राप्त गर्नु भएकी भिममायाले वडाध्यक्ष वीरबहादुर राई, सुरुदेखि अनागरिक भएकोले राज्यका सेवा सुविधा नपाएको भनेर समाचार लेखिदिने पत्रकार गोपाल काफ्ले र नेता बास्कोटालाई आशीर्वाद दिनु भएको छ । 

उहाँका सन्तान छैनन् । श्रीमान् कूलबहादुर श्रेष्ठको कोरानाकालमा निधन भएपछि एक्लो जीवन बिताउँदै आउनुभएकी भिममाया भदाहरूको भरथेगमा बस्दै आउनुभएको थियो ।