सिराज खान
नेपालगन्ज, भदौ ३० गते। नेपालगन्जका मुख्य सडकमा जकरान्दा फूलका बिरुवा रोपेर सहरलाई हरियो, सफा र स्वच्छ बनाउने अभियान सुरु गरिएको छ।
बाँके जिल्लाका हरित अभियन्ताले नेपालगन्ज बजारको मुख्य सडक रत्न राजमार्गस्थित सडकमा जकरान्दा फूलका बिरुवा रोपी हरियो सहर बनाउने अभियान सुरु गरेका हुन्।
हरित अभियन्ता प्लाष्टिक सर्जन डा. विनोद कर्णले अहिले रोपेका यी जकरान्दालाई संरक्षण गर्न सकेमा सडकलाई मात्र नभई सहरलाई नै सुन्दर बनाउने बताउनुभयो। उहाँले सहरको सुन्दरतालले पनि त्यो सहरको पहिचान निर्माण गर्ने जनाउँदै नेपालगन्जलाई नमुना हरियो सहर बनाउने उद्देश्य रहेको बताउनुभयो।
डा. कर्णसहित वन तथा प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील बिन्दु घर्तीमगर, ऋषिराज देवकोटा, वसन्ती खड्कालगायतका अभियन्ता सडक आसपासमा जकरान्दाको बिरुवा लगाउन खटिनुभएको छ।
नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका–७ रानीतलाउमा छ वटा जकरान्दाको बिरुवा रोपिएको हरित अभियन्ता डा. कर्णले जानकारी दिनुभयो।
उहाँका अनुसार सरकारी कार्यालयलाई हराभरा र सुन्दर बनाउने उद्देश्यले वडा नं १ कार्यालय परिसरमा नौ वटा जकरान्दाका बिरुवा रोपिएका छन्। त्यसैगरी वडा नं २० को भीमसेन मन्दिरमा पनि जकरान्दाका छ वटा बिरुवा लगाइएको छ।
नेपालगन्ज सहरलाई हरियाली बनाउन २०७२ सालदेखि विभिन्न प्रजातिका फूलका बिरुवा लगाउन सुरु गरिएको हो। लगाइएको बिरुवामध्ये ७० देखि ८० प्रतिशत बिरुवा हुर्किएको हरित अभियन्ता डा कर्णको भनाइ छ।