• ९ पुस २०८१, मङ्गलबार

अदृश्य पहाड (कथा)

blog

ज्योतिको मुहारबाट चमक हराएको छ । निविड रातमा चन्द्रमा विलुप्त भए जसरी ज्योतिको उत्साह, उमङ्ग र ऊर्जा पनि डुबेका छन् । मेरा आँखामा उसको अतीत झलमल्ल उदायो । विश्वविद्यालयमा आउँदा उसको मुहारमा सहस्र ऊर्जा प्रदीप्त हुन्थ्यो । ऊ बोल्दा उसका सम्पूर्ण अङ्गप्रत्यङ्ग वाचाल हुन्थे । आँखामा छुट्टै चञ्चलता छाउँथ्यो । बोल्न थालेपछि सबैका दृष्टि उसैप्रति आकृष्ट हुन्थे । रूपमा मात्र होइन ज्ञान र बुद्धिमा पनि अब्बल थिई । विश्लेषणात्मक क्षमतामा पनि उच्चस्तरको चेतना थियो । ज्योतिलाई तर्कमा कसैले पनि जित्न सक्दैनन् थिए । स्नातकोत्तर पहिलो वर्षमा चुपचाप बसेकी ज्योति दोस्रो वर्षमा प्रभात्मक भई । दोस्रो वर्षमा पाइला टेक्नेबित्तिकै ख्याति कमाउँदै गई । माधवी उपन्यासमाथिको समीक्षाले नै हो ज्योतिको उचाइ अझ अग्लिएको । त्यो समीक्षाको फोटोकपी मात्र पनि कति छापियो कति । डिपार्टमेन्टमा तहल्कै मच्चाएकी थिई, उसको कपी अरू विद्यार्थीले पनि पढ्न थाले । समीक्षा मात्र कहाँ हो र उसका कविताका भाव, विम्ब पनि गहिरा हुन्थे । वाचन कला पनि उस्तै उत्कृष्ट । उसले वाचन गरेका कविता सुन्दा पुरुष मन मात्र होइन, नारी हृदय पनि मोहित हुन पुग्थे । ज्योतिको क्षमतालाई कसैले आँक्न सक्दैन थिए । कतिपय समवयीहरू क्षोभले ग्रसित हुन्थे । ज्योतिको फैलिँदो ज्योति सबैलाई कहाँ मन परेको थियो र ? उसको प्रशंसा सुन्नुपर्दा जलनले आक्रान्त भएका समवयीहरू रोष प्रकट गरिहाल्थे । उसलाई पछार्न, होच्याउन र बदनाम गर्नसमेत पछि परेनन् । ज्योति जस्तो साथी पाएर म निकै हर्षित थिएँ । अचानक ज्योतिको बिहेको खबरले हामी स्तम्भित भयौँ । दीपाले ल्याएकी थिई त्यो अशुभ खबर । 

“जया एउटा कुरा थाहा पाइस् ?” विस्मित मुहार लिएर ऊ बोल्दै थिई । मैले थाहा नपाएको भावमा मुन्टो हल्लाएँ । दीपा शुष्क भावमा अझ भन्दै गई, “ज्योति विश्वविद्यालय नआएको कारण त अर्कै पो रहेछ नि ।” 

अधैर्य भएर सोधेँ, “कुरो नचपाई भन्न, के हो कुरो ?” दीपा कुरो खोल्नलाई भूमिकै ज्यादा बनाउँथी । म झर्किएको चाल पाइहाली । अनि उसले बल्ल कुराको तुनो खोली ‘निशान्ध सरसँग ज्योतिको बिहे रे ! माघ २४ गते । कस्ती रैछे निशान्ध सरसँग कहिले माया पिरती गाँसिछे । कतै भेउ पनि दिइन । त्यो सर निकै चतुर छ । सोझी केटी फसी नराम्रोसँग ।” एकै सासमा दीपा अभिव्यक्त भई । उसका कुरा सुनेर अचम्मित हुँदै रोष प्रकट गरेँ, “होइन ज्योति जस्ती केटी कसरी बिहे गर्न सक्छे हँ पढाइ नै पूरा नगरी ?” 

“आँखाबाट आरम्भ भएको प्रेम शरीरमा गएर टुङ्गिने त निश्चित छ । यो कुरा त बुझ्नुपर्ने हो । त्यो लालची र कामी पुरुषको दृष्टिलाई किन मूल्याङ्कन गर्न सकिन ?” म चिन्तित भएको देखेर दीपा फेरि बर्बराई । उसको मुख पनि रोषले रातो भयो, “त्यो कामातुर पुरुष पुरुषको नाममा कलङ्क हो । एक नम्बरको स्त्रीलम्पट छ । पहिल्यै बिहे त भएको छैन होला नि त्यो मोराको ?” ज्योतिको अपरिपक्व निर्णयले चिन्ताग्रस्त मात्र थिएनौँ, भयाक्रान्त भयौँ । 

हेर्दाहेर्दै बिहेको दिन आयो । निशान्धको मुहारमा कुटिल हाँसो छरपस्ट देखियो । ऊ ज्योतिलाई भोग गर्न मात्र चाहन्छ भन्ने कुरा उसका बिच्छुकी आँखामा स्पष्ट थियो तर प्रेममा ज्योति नतमस्तक थिई । सम्झाएर सम्झिने अवस्था नै थिएन । बिहे भयो । मेरो मनमा पीरले ठुलो पहिरो खसेको थियो । पढ्न आउँछे कि आउँदिन ? ज्योतिको निशान्ध सरसँग भएको बहस मैले बिर्सिएकी थिइनँ । ज्योति सबैलाई हृदयबाट माफ गर्छे । सरका सबै कुरा भुलेर उसैसँग पो माया गाँसिछे । ज्योतिको ऊर्जा निभाउन त निशान्धले चाल रचेको होइन ? मेरो मनमा शङ्काको बाढी पसेको थियो ।

स्नातकोत्तर तह सम्पन्न गर्‍यौँ । म र दीपा कलेजमा पढाउन थाल्यौँ । ज्योतिको क्षमता, ऊर्जा र सम्भावना सबै घरभित्र समेटिँदै गए । समयको चक्रमा ज्योति पूर्ण रूपमा गृहिणी भई । हामीले निकै कोसिस गर्‍यौँ ज्योतिलाई आत्मनिर्भर बनाउन तर भर्खर भर्खरको प्रेमको सागरमा डुब्दै गएकी ज्योतिले जीवनको ज्योति निभ्दै गएको चालै पाइन । मैले नै सम्झाएकी थिएँ, “हेर, जागिर खानु भनेको पैसा कमाउनु मात्र होइन । पैसा त साधन मात्र हो । जब तँ आर्थिक रूपमा सक्षम हुन्छेस्, तेरो निर्णय क्षमतामा वृद्धि आउँछ । जागिर भनेको आँट, हिम्मत र आवाज हो । जागिर भनेको स्वतन्त्रता हो । जागिर डर र तनाव हटाउने तागत हो । जागिर स्वाभिमान हो । जागिर आत्मसम्मान हो ।” मेरा कुरा सुनेर ज्योति हाँसेकी थिई । उल्टै मलाई पो सम्झाउन थाली, “हेर अब मलाई किन खानु पर्‍यो जागिर । कति गर्नु दुःख । घरको काम भ्याएर सकिँदैन । छोराछोरी हेर्दाहेर्दै दिन जान्छ । लाउनखान दुःख छैन । निशान्धको पुख्र्याैली सम्पत्ति पनि टन्नै छ । मसँग पैसाको कुनै हिसाब माग्दैनन् । उसको कमाइ र मेरो कमाइमा आखिर फरक नै के छ र ? जम्मै कुरा मेरै हातमा छ । मलाई आनन्द छ । बरु तेरो हालखबर सुना के छ ? अब बिहे गर्दिनस् ? कति करिअर भनेर मर्न आँटेकी, बरु एउटा गतिलो केटा खोज अनि आनन्दले घरजम गर ।” 

ज्योतिका कुरा सुनेर चकित भएँ । त्यो तीक्ष्ण र तेजस्वी केटी यही हो ? कहाँ गयो यो केटीको बौद्धिकता ? कहाँ गयो यो केटीको चेतना ? स्वावलम्बन र आत्मनिर्भताको वकालत गर्ने केटी बिहेपछि किन यस्ती भई ? तर्कका लहर उठिरहे । किन अनियोजित जीवन बाँच्न अभिषप्त छन् छोरीहरू । अरूको आश्रयमा बाँच्नु भनेको परनिर्भर जीवन बाँच्नु हो । किन समय छँदै बुझ्न सक्दैनन् ? अरूको तलबलाई कति सजिलै मेरो तलब हो भन्छन् केटीहरू ? समयले जब झापड हान्छ अनि बल्ल चेताउँछन् । पुर्खाको सम्पत्तिमा कत्रो भरोसा । के जागिर तलब मात्र हो ? किन बुझ्न सक्दैनन् समयको आवाजलाई ? ज्योति जस्ती प्रज्ञावान् चेलीको त यस्तो सोच र अवस्था छ भने जसले जीवनलाई थोरै पनि बुझेका छैनन्, तिनीहरूको अवस्था झन् कति भीषण होला ? कल्पनामै म भयभीत भएँ । ज्योतिका कुरा सम्झिँदै एकोहोरो भएर हिँडिरहेकी थिएँ । मस्तिष्कमा घमासान युद्ध चल्दै थियो । के प्रभाव, अभाव र दबाबले मान्छेको गुण पनि सखाप पार्छ ? ज्योतिका ती बौद्धिक तर्कहरू के मिथ्या थिए ? बौद्धिकता के कुनै पुरुषलाई आकृष्ट गर्नका लागि पोतिएका प्रसाधन मात्र हुन् ? चेतना अरूलाई देखाउने साधन हो ? जो तर्क गरेर कसैसँग हच्किन्न थिई, आज ऊ कुन धरातलमा उभिएकी छे ? निकै दिनसम्म अशान्त भएँ । 

करिब एक वर्षपछि पुनः ज्योतिलाई भेट्न गएकी थिएँ । त्यसपछि लामो समय हाम्रो भेट भएन । कालान्तरमा समयले घुमाउँदै विश्वविद्यालयमै मलाई पु¥यायो । कीर्तिपुरमा नेपाली विषय नै पढाउन थालेँ । समयले निकै फड्को मारिसकेको थियो । ज्योतिसँगको भेटघाट पनि टुटिसकेको थियो । म आफ्नै संसारमा हराएँ, ऊ आफ्नै तर पनि सम्झनामा ज्योति हरघडी आउँथी । ज्योतिलाई बिहेपछि नै निशान्धको सन्देहपूर्ण व्यवहारले क्षुब्ध पार्दै ल्याएको रहेछ । मैले अलि हकारेको स्वरमा त्यो अन्तिम भेटमा भनेकी थिएँ, “तेरो समस्या मलाई सबै थाहा छ । तेरो मुखबाट सुन्न मात्र चाहेकी हुँ । तँलाई मैले कति सम्झाएँ, तैँले मेरो कुरा सुनिनस्, आज पनि केही बिग्रेको छैन, भन् तेरो पीडा म सुन्छु ।” मैले ज्योतिको काँधमा दुवै हात राखेर थपथपाएकी थिएँ । ज्योति बाँध थुनेर राखेको पानी जसरी ह्वात्तै पोखिएकी थिई, “बिहेको करिब वर्ष दिनपछि निशान्ध मप्रति विकर्षित हुँदै गयो । बिस्तारै उसले मलाई आफ्नो मुठीमा कस्दै लग्यो । उसको जालमा वशीभूत हुँदै गएँ । सहँदै गएँ ।” त्यो दिन ज्योतिको पीडामा म पनि निकै जलेकी थिएँ । मेरा आँखा ज्योतिलाई सम्झिनेबित्तिकै जलमग्न हुन्छन् आज पनि । मेरो हृदयमा अमिट भएर बसेकी छ ऊ । उसका दन्तलहर खुल्दा यस्तो लाग्थ्यो, सारा हिमाल ज्योतिकै ओठबाट एकैचोटि हाँसिरहेका छन् । कविता पढाउने अमिताभ सरको त के कुरा गरौँ, ज्योति नभएको कक्षामा सरले कविताको भाव र छन्द नै भुल्न पुग्थे । सबैलाई विदित हुन्थ्यो सरको हृदयको आर्तनाद । 

समयले जाँतो घुमाउँदै लग्यो । विश्वविद्यालयमा पढाउन आएको पाँच वर्षपछि अचानक ज्योति एक दिन मेरो घर आई । ज्योतिको मुहार प्रदीप्त देखेँ । सन्तुष्टिले ओतप्रोत । ठुलै खजाना हात परेको जस्तो थियो । आत्मविश्वासले उज्ज्वलित थिई । उसलाई गम्लङ्ङ अँगालो हालेँ । हर्षाश्रुले हामी दुवै निथु्रक्क भिज्यौँ । उसले भनी, “तैँले भनेको कुरा सोह्रै आना सत्य रहेछ जया । आफ्नो कमाइ भनेको त आफ्नो इज्जत रहेछ । स्वाभिमान रहेछ । अरूको कमाइमा बाँच्नु त दासत्वलाई स्वीकार्नु रहेछ । बिस्तारै प्रेम र आकर्षणका रङहरू उड्न थालेपछि बुझ्दै गएँ । निशान्धसँगको प्रेम भ्रम रहेछ । त्यो दिन तँ आउँदा मैले मेरा जम्मै पीडा लुकाएर निकै झुट बोलेकी थिएँ । आत्मसम्मान र स्वाभिमान गुमाएर हाँस्न सिक्दै थिएँ । म मेरो अवस्था छोप्न चाहन्थेँ । तेरोअगाडि मलाई कमजोर हुन मनै लागेन । तँ निडर, निर्भीक र नितान्त स्वावलम्बी भएर हिँडिरहँदा म कसैको पूर्ण दबाबमा थिएँ । घरेलु हिंसाको चक्रव्यूहमा फस्दै थिएँ । सबै कुरा थाहा थियो । अन्यायलाई परास्त्र गर्न सक्थेँ तर म छातीमा परिवार र समाजलाई बोकेर हिँडेकी थिएँ । उन्मुक्तिका लागि म भगीरथ प्रयास गर्दै थिएँ । जीवनमा जति दुःख, सङ्घर्ष गर्नुपरे पनि गर्छु भन्ने अठोट लिएकी थिएँ । म अभिशप्त जीवनलाई विमुक्त गर्न चाहन्थेँ । मैले चुनौतीलाई अवसर बनाउँदै लगेँ । समस्याका लामा लामा डन्डालाई सफलताको सागरमा सेतु बनाउँदै गएँ । अब मलाई कसैसँग गुनासो छैन ।” 

मैले हतारिँदै सोधेँ, “अनि अहिले के गर्दै छेस् त ?” मेरो प्रश्न सुनेर स्मित हाँसो छर्दै बोली, “के गर्छेस् भन्ने प्रश्न नसोध् मलाई, के चाहिँ गर्दिनस् ज्योति भनेर सोधी त हेर् । त्यसको उत्तर मसँग पर्याप्त छ !” ज्योति कोठाभरि फैलिँदै गई । उसको दृष्टि पुस्तकको दराजमा पर्‍यो । हेर्दै थिएँ उसको मुहारमा, अचानक सूर्य उदित भए । मेरो टेबुलमा यो वर्षको मदन पुरस्कारको छनोटमा परेको उपन्यास थियो । मैले हौसिँदै भनेँ, “हेर यो लेखक उद्घाटित नभएर यो कृतिले मदन पुरस्कार नपाएको हो नि । मेरा लागि त यो कृति नै यो वर्षको मदन पुरस्कार प्राप्त कृति हो । साँच्चै यो कृति कुनै महिला लेखकले नै लेखेको हुनु पर्छ ।” मैले पुलुक्क ज्योतिको मुखमा हेरेँ उसको मुहारमा स्निग्ध हाँसो थियो ।

‘अदृश्य पहाड’ शीर्षक हेर त कति गहिरो छ । लेखकको नाम चाहिँ बेनाम छ । बेनाम लेखकले अहिले तहल्का मच्चाएको कुरा तँलाई पनि थाहै होला । पुरस्कार लिन आए त स्रष्टा चिन्न सकिन्थ्यो होला नि है ! कसले लेखेको होला यो पुस्तक थाहै भएन । ज्योति मुस्कुराउँदै बोली, “पुरस्कार थाप्न लेखक आउने सम्भावना निकै कम छ ।” उसका कुरा सुनेर म छक्क परेँ र भनेँ, “तँलाई कसरी थाहा भयो लेखक नआउने कुरा । ठोकुवा नै गरिस् त ? तैले लेखकलाई चिनेकी छस् ? एकचोटि यो किताब पढेर त हेर । मलाई त तैँले नै उक्लिएको ‘अदृश्य पहाड’ जस्तो लाग्यो । लैजा लगेर पढ् ।” मेरो कुरा सुनेर ज्योति हाँसिरही ।

“के हाँसिरहेकी, पढेकी छस् भने पढेकी छु भन् ?” मैले भनेँ । ज्योति निर्धक्क भएर बोली, “मलाई के पढ् भन्छेस् जया ! यसको पाण्डुलिपि नै मेरो हातमा छ ।” म छक्क परेँ ।

कसरी ?

“एक दिन रहस्य खुलिहाल्छ नि, किन हतारिएकी,” ऊ मन्द मन्द मुस्कुराउँदै ब्याग बोकेर आफ्नो बाटो लागी ।    

Author

अनिता कोइराला