• २५ पुस २०८१, बिहिबार

दमकमा वडा स्तरमा 'केएचडिसि' कार्यक्रम सञ्चालन

blog

केएचडिसि कार्यक्रमको उद्घाटन गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जीव कुमार शर्मा ।

बिष्णुप्रसाद पोखरेल

दमक, भदौ २७ गते । नसर्ने रोगहरूको पहिचान र उपचारका लागि दमक नगरपालिकाका हरेक वडामा 'केएचडिसि' कार्यक्रम सञ्चालन सुरु गरेको छ । यसअघि नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले केएचडिसि नेपालसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

मधुमेह, प्रेसर, मुटु, किड्नी, दम लगायतका दीर्घ रोग सम्बन्धी जाँच र उपचारका लागि दमकको वडा नं. ९ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न ल्याब सञ्चालन सहित बुधबारदेखि केएचडिसि कार्यक्रम सुरु भएको छ । कार्यक्रम अन्तर्गत कम्तीमा मासिक रूपमा नागरिकहरूले निःशुल्क रूपमा जाँच गराउने र विशेषज्ञलाई आफ्नो रिर्पोट देखाउन सक्ने व्यवस्था मिलाइएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जीव कुमार शर्माका अनुसार दमक नगरपालिकाले वडाहरूमा यस कार्यक्रमको विस्तार गरेको बताउँदै स्वास्थ्य क्षेत्रमा यो अनुकरणीय काम भएको बताउनुभयो । उहाँले मिर्गौला र मुटुको रोगको पहिचानका लागि यो कार्यक्रम धेरै नै प्रभावकारी बन्ने जनाउनुभयो ।

स्थानीय सरकारको सहकार्यमा झापा, ताप्लेजुङ, मोरङमा मानिसहरूको मिर्गौला र मुटुको रोगका कारण हुने गरेको मृत्यु घटाउनका लागि यस प्रकारको कार्यक्रम भइरहेको पनि केएचडिसि नेपालका संरक्षक समेत रहनु भएका डा. कोइरालाले जनाउनुभएको छ । समयमा नै रोग पत्ता लाग्न सके उपचार सम्भव हुने भएकाले यो विषय बुझाउँदै हिँडेका छौ, डा. शर्माको भनाइ छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार सबै वडामा यो कार्यक्रम सुरु गरिने योजना छ । वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रहरूमा गुणस्तरीय ल्याब राख्न सुरु भइसकेको उहाँले बताउनुभयो । दीर्घ रोगहरूको पहिचान र उपचारका लागि आफूहरू सधैँ तत्पर रहेको थापाको भनाइ छ ।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले आफू नगर उपप्रमुखको रूपमा निर्वाचित भएपछि पहिलो निर्णय नै आधारभूत स्वास्थ्य केन्द्रहरूमा गुणस्तरीय ल्याब व्यवस्थापन गर्ने रहेको र यसको काम भइरहेको बताउनुभयो । प्रेसर, मधुमेह, मुटुरोग र मिर्गौला रोग जस्ता रोगहरूको पहिचानका लागि केएचडिसि कार्यक्रम सुरु भएकाले यसको औचित्य थप पुष्टि भएको उहाँको दाबी छ ।