• २६ पुस २०८१, शुक्रबार

निर्माण क्षेत्रकी साहसी महिला गौमती

blog

कालीगण्डकी कोरिडोर सडक आयोजनामा पर्ने बैसरी पहिरो रोकथामका लागि काम भइरहेको ठाउँमा गौमती बुढामगर । तस्बिर : ठाकुरप्रसाद आचार्य

बेनी समाचारदाता 

म्याग्दी (बेनी), भदौ २६ गते । डेढ दशकअघि निर्माण क्षेत्रमा मजदुर भएर भित्रिनुभएकी रोल्पाकी गौमती बुढामगरले अहिले सफल निर्माण व्यवसायीको परिचय बनाउनुभएको छ । उहाँ महिलाले पनि निर्माण क्षेत्रमा काम गरेर सफल व्यवसायी बन्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ । 

३८ वर्षीय गौमतीले १५ वर्षको यो अवधिमा विभिन्न आयोजनामा कठिन र चुनौतीपूर्ण कामको जिम्मा लिएर सम्पन्न गरिसक्नुभएको छ । गौमतीसँग भिर पहरामा झुन्डिएर काम गरेको अनुभव छ । ऊबेला मनाङको चामे सडक निर्माणका लागि श्रीमान् सहवीर घर्तीमगरसँगै गौमती मजदुरी गर्न जानुभएको थियो । त्यहाँ पाँच वर्ष मजदुरका रूपमा उहाँले सडक निर्माणको काम गर्नुभयो । गौमतीले रोल्पालगायत अन्य जिल्लाबाट सडक निर्माणका लागि आवश्यक पर्ने जनशक्तिको बन्दोबस्तीको कामसमेत गर्दै आउनुभएको थियो । मनाङको सडक निर्माणको काम सकेपछि २०७० सालमा म्याग्दी आउनुभएकी गौमतीले यहाँको घलेम्दीखोला, मिस्त्रीखोला  र नीलगिरि जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण, रक कटिङलगायतका कठिन स्थानमा काम गर्नुभयो । 

निकै चुनौती मानिएको घलेम्दी जलविद्युत् आयोजनामा पेनस्टक पाइपलाइन निर्माण र अक्करेभिरमा एङ्कर ब्लक निर्माणको काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मिस्त्री खोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणको काम पनि निकै कठिन र जोखिमपूर्ण थियो, कडा भिरमा रक कटिङ गरेर सडक निर्माण गर्नुपर्ने थियो । यो निकै चुनौती र जोखिमपूर्ण काम थियो । त्यो काम मेरो नेतृत्वमा सफलतापूर्वक सम्पन्न भयो ।” कामप्रति लगनशील, जिम्मेवार भएर विश्वास आर्जन गर्नुभएकी गौमतीलाई अहिले भने भ्याइनभ्याइ छ । आयोजनाले कठिन र भिरपहराको कामको जिम्मा गौमतीलाई नै जिम्मा दिन्छन् । 

निर्माण क्षेत्रमा सफलता प्राप्त हुँदै जान थालेपछि सात वर्षअघि गौमती र उहाँका श्रीमान् सहवीरले युवराज कन्स्ट्रक्सन निर्माण सेवा खोलेर निर्माण व्यवसायी बन्नुभयो । १५ वर्षअघि मजदुरका रूपमा निर्माण क्षेत्रमा प्रवेश गर्नुभएका दुवैै जना अहिले विश्वासिलो, भरपर्दो र उदीयमान निर्माण व्यवसायीको परिचय बनाउनुभएको छ । गौमती अहिले उक्त निर्माण कम्पनीको मुख्य सञ्चालक हुनुहुन्छ । 

निर्माण कम्पनीको सञ्चालक भए पनि गौमती भिरपहरामा मजदुरसँग काम गर्नुहुन्छ । पाँच वर्षदेखि राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको सबैभन्दा कठिन क्षेत्रमा काम गरिरहनुभएको छ । गजुरमुखी निर्माण सेवाको सहायक ठेकेदारका रूपमा उहाँले सबैभन्दा कठिन मानिएको काभ्रेभिरमा सडक निर्माणको काम गर्नुभयो । 

आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले निर्माण कम्पनीको सञ्चालक भए पनि गौमती आफैँ भिरमा झुन्डिएर मजदुरसँगै काम गर्ने साहसी महिला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाले जिम्मा लगाएको काम गुणस्तरीय तवरले समयमै सम्पन्न गर्नुहुन्छ । मजदुरको परिचालन, व्यवस्थापन र कामप्रति जिम्मेवारीबोध उहाँमा छ ।” परिश्रमी भएकाले आयोजनाले उहाँलाई कामको जिम्मा दिने गरेको उहाँले बताउनुभयो । बेनी–जोमसोम सडकखण्डको बैसरी पहिरो रोकथामका लागि गौमती आयोजनाबाट ठेक्का लिएर यतिखेर ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर पहिरो रोकथामको काम गरिरहनुभएको आयोजनाका सबइन्जिनियर कार्कीले बताउनुभयो । 

रक कटिङका साथै कठिन भिरपहरामा काम गर्ने सिप आफूसँग भएकाले सडक निर्माण र जलविद्युत् आयोजनाले आफूलाई बोलाउने गरेको गौमतीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई निर्माण क्षेत्रमा काम गर्न निकै चुनौती छन् । काम गर्दै गयो भने कामले काम सिकाउने रहेछ । महिलाले पनि निर्माण क्षेत्रमा काम गर्न सकिँदो रहेछ भन्ने मलाई आशा जागेको छ । काम गरेको ठाउँमा समयमै भुक्तानी नपाउने समस्या छ तर मजदुरको पारिश्रमिक भुक्तानी गर्न ढिलासुस्ती गर्नुहुँदैन । त्यसका लागि ऋण खोजेर भए पनि मैले मजदुरलाई भुक्तानी गर्ने गरेको छु ।” निर्माण सेवाको पेसामा विभिन्न विकृति र विसङ्गति भए पनि यो पेसाबाट खुसी र आत्मसन्तुष्टि मिलेको उहाँले सुनाउनुभयो । विदेश जानुभन्दा आफ्नै देशमा केही गरौँ भनेर निर्माणमा भविष्य देखेर यही पेसा रोजेको उहाँको भनाइ छ ।