विजयकुमार साह
ढल्केबर, भदौ २५ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिका–७, महादेवमठमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । ठक्करबाट सोही ठाउँ बस्ने रिता यादवकी सात वर्षीया छोरी रचना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले मङ्गलबार दुर्गाटोलस्थित राष्ट्रिय आधारभूत विद्यालयमा परीक्षा दिएर घर फर्किने क्रममा रचनालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको बताउनुभयो । ठक्करबाट घाइते ती बालिकालाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।
ठक्कर दिए लगतै मोटरसाइकलसहित चालक फरार भएका छन् । मोटरसाइकल र चालकको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक साहको भनाइ छ । बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएका र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।