• २६ पुस २०८१, शुक्रबार

१२ कक्षा उत्तीर्ण भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले २५ हजार दिने

blog

धनुषाको खजुरीस्थित जनकनन्दिनी गाउँपालिकाको कार्यालय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, भदौ २५ गते । धनुषाको जनकनन्दिनी गाउँपालिकाले १२ कक्षा उत्तीर्ण र २० वर्षपछि विवाह गर्ने छोरीलाई प्रोत्साहनस्वरुप २५ हजार रुपियाँ सहयोग प्रदान गर्ने भएको छ । छोरीचेलीको उच्च शिक्षाप्रति आकर्षण बढाउन र बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले यस्तो प्रावधान लागु गरेको हो। 

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले बालविवाह रोक्न र छोरीहरुलाई पढ्न प्रेरित गर्न यस्तो निर्णय गरिएको बताउनुभयो । छोरीलाई प्रोत्साहन गर्ने विषयमा कार्यपालिकाको बैठकबाट सर्वसहमति निर्णय पारित भएको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यसले कलिलो उमेरमा हुने विवाह न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । १२ कक्षा उत्तीर्णपछि उच्च शिक्षा हासिल गर्नत सहयोग पुग्छ । यहाँ बालविवाह र बिचमै पढाइ छोड्ने छोरीचेलीको सङ्ख्या धेरै छ ।” उमेर नपुगी विवाह गर्दा एकातिर उहाँहरुले पढाइ पूरा गर्न पाउँदैनन् भने अर्कोतिर कम उमेरमा गर्भवती हुँदा स्वास्थ्य समस्या भोग्नुपर्ने अध्यक्ष यादवको भनाइ छ । 

चालु आर्थिक वर्षबाट छोरीहरुलाई प्रोत्साहन सहयोग प्रदान गर्ने बताउँदै उहाँले भन्नुभयो, “२५ हजार रुपियाँ दिने निर्णयले सबै समस्या समाधान हुन्छ भन्न सकिँदैन तर पढ्न र २० वर्ष पुरा भएपछि मात्रै विवाह गर्नुपर्ने सकारात्मक सन्देश समाजमा जान्छ ।” बालविवाह एवम् भागीविवाह नियन्त्रण गर्न र छोरीलाई धेरैभन्दा धेरै पढाउन समुदायका सबै पक्षसँग छलफल थाल्ने अध्यक्ष यादवले बताउनुभयो । 

मुलुकी अपराध संहिता २०७८ अनुसार बालविवाह दण्डनीय अपराध भएको उल्लेख गर्दै २० वर्ष उमेर नपुगी विवाह गरे गराए स्वतः बदर हुनुका साथै तीन वर्ष कैद तथा ३० हजार रुपियाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको उहाँले सुनाउनुभयो । 

जनकनन्दिनी गाउँपालिका शिक्षा शाखाका प्रमुख ऋषिकेश यादवले बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत गाउँपालिकाले सञ्चालन गरेको यस अभियानले बालविवाह कम हुने र उच्च शिक्षा हासिल गर्ने छात्राको सङ्ख्या बढ्ने बताउनुभयो । उहाँले यस पालिकामा एसईई उत्तीर्ण गर्ने छोरीचेलीमध्ये ६० प्रतिशतले मात्रै १२ कक्षासम्म पढ्ने गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पालिकाभित्र १० कक्षासम्म पढाइ हुने तीन वटा सामुदायिक र एउटा संस्था विद्यालय छन् । प्रत्येक वर्ष दुई सयको हाराहारीमा छात्रा एसइईको परीक्षामा सामेल हुन्छ । तर ११ र १२ कक्षामा भर्ना हुने छात्राको सङ्ख्या निकै न्यून रहन्छ ।” पालिकामा १२ कक्षासम्म पढाइ हुने दुई वटा विद्यालय रहेको उहाँले बताउनुभयो ।

स्थानीय विनोदकुमार मण्डलले प्रोत्साहन भत्ताले बालविवाह निर्मूल गर्नका लागि प्रेरक कदम भएको बताउनुभयो । यसले समुदायमा सकारात्मक सन्देश जाने बताउँदै उहाँले गाउँपालिकाले उच्च शिक्षाका लागि क्याम्पस स्थापना गर्नुपर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यस भेगमा उच्च शिक्षा हासिल गर्नका लागि क्याम्पस छैन । ३० किलो मिटर टाढा जनकपुर पुग्नुपर्छ । त्यसैले पनि १० कक्षा पास गरेपछि पढाइ छोड्ने र कलिलो उमेरमै विवाह गर्ने युवतीको संख्या यहाँ बढ्दो छ ।” उमेर नपुग्दै भागी विवाह गर्ने चलनसमेत बढ्दै गएकाले यसलाई निर्मूल पार्न सीप र शिक्षामा जोड दिनुका साथै किशोरकिशोरीलाई मोबाइलको कुलतबाट पनि मुक्त गर्नुपर्ने उहाँको भनाइ छ ।