विश्वका प्रसिद्ध सिनेमा निर्माता निर्देशकले सिनेमाको निर्माण सुरु भएदेखि नै हास्य, रोमाञ्चक, जासुसी सिनेमा बनाउन थालिसकेका थिए । विविध विषयका सिनेमा बनाउने क्रममा बालबालिकाको रुचिलाई लिएर बाल चलचित्र पनि बनाउन थाले । अमेरिका, हङ्गेरी, जर्मनी, फ्रान्स, रुस आदि देशले बाल चलचित्र बनाइसकेका थिए ।
स्विडेनका चलचित्र निर्देशक इङ्ग्मार बर्गम्यानले बालबालिकालाई विषय बनाएर सुरुवातमा केही सिनेमा बनाए । जापानका चलचित्र निर्देशक आकिरा कुरोसावा, अमेरिकाका चलचित्र निर्देशक अर्सन बेल्स आदिले बालबालिकामाथि राम्रा राम्रा सिनेमा बनाए ।
फ्रान्सका फ्रान्सुआ क्रुफोले एउटा बालकको मनोविज्ञानमा फोर हन्ड्रेड ब्लोज जस्तो सिनेमा बनाए । जर्मनीका वेर्नर हर्जोगले अझै राम्रा राम्रा सिनेमा बनाए । जर्मनीका लेखक गुइन्टर ग्रासको कथामा बनेको द टिन ड्रम जस्तो बाल सिनेमाले अन्तर्राष्ट्रिय जगत्मा ठुलो हलचल मच्चायो । विशेष गरेर बच्चाको अभिनय गर्ने कलाकारको मनोविज्ञान र उसको स्थितिले संसारलाई झकझकायो । यो सिनेमा सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि सहभागी भएको थियो ।
क्रुफोले बनाएको फ्रान्सिसी भाषाको सिनेमा जस्तै अरू मुलुकले पनि बाल सिनेमा बनाउन थाले । त्यसमध्ये हाम्रो नजिकको छिमेकी राष्ट्रमा झन् धेरै सिनेमा बन्न थाल्यो । भारतमा हिन्दी, बङ्गाली, तमिल, तेलुगु कन्नड भाषामा बाल सिनेमा बनाउन सुरुदेखि नै चलचित्र निर्देशकहरू लागिपरे । त्यसमा बङ्गाली चलचित्र निर्देशक सत्यजित रेले दुई बालकमाथि बनाएको पाथेर पाञ्चाली नामको सिनेमा लोकप्रिय भयो । यसको तीन भागमा दोस्रो भाग अपराजितो र अपुर संसारमा विशेषतः बालबालिकाकै विषय केन्द्रित छ । अपुर संसारको अप्पु नामको पात्र यति लोकप्रिय भयो कि त्यस बाल कलाकारमाथि पछि कमिक्स बुक पनि प्रकाशित भयो ।
रेले पछि पनि बालबालिकाका विषयमा अन्य सिनेमा पनि बनाए । रे जस्तै हिन्दी चलचित्रका निर्देशक गुलजारले बालमनोविज्ञानकै विषयमा स्कुलमा पढ्न रुचि नभएको एक बालकमाथि किताब नामको सिनेमा बनाए । बालबालिकाको रुचि, खेल र मनोविज्ञानलाई राम्रो अध्ययन गर्न सक्ने चलचित्र निर्देशक गुलजारले बच्चाका विषयमा टेलिभिजन सिरियल जङ्गल बुक पनि बनाएका छन् । उनले लेखेको बालमनोविज्ञानको उत्कृष्ट सिनेमा ‘मासुम’ शेखर कपूरको निर्देशनमा प्रस्तुत भएको छ । मास्टर जुगल हंसराज, उर्मिला मातोन्डकर जस्ता बाल कलाकारलाई लिएर बनाएको यो सिनेमा बाल सिनेमा नभए पनि बालमनोविज्ञानमा आधारित भएकाले यसको खुब चर्चा भयो ।
बालबालिकालाई केन्द्रविन्दुमा राखेर हिन्दी सिनेमा जगत्मा धेरै सिनेमा बन्ने भएको भएर बालकलाकार मास्टर मयूर, मास्टर राजु श्रेष्ठ, मास्टर अलङ्कार, बेबी पिन्की, बेबी गुड्डु जस्ता कलाकार चर्चित भए । कैयौँ बालकलाकारपछि गएर चर्चित नायक नायिका पनि भए । ऋषि कपूर, सञ्जय दत्त, उर्मिला मातोन्डकर, जुगल हंसराज , सुशान्तलगायतका थुप्रै कलाकार ठुलो पर्दामा पनि स्थापित भए ।
मणि रत्नमले दक्षिण भारतमा बनाएको गीताञ्जली नामक सिनेमा बालमनोविज्ञानमा आधारित एक उत्कृष्ट सिनेमा मानिन्छ । गीताञ्जलीमा एक नवजात शिशु जसको नयाँ घरमा प्रवेश भएपछिको कथामा बनेको यो बाल सिनेमा सबैभन्दा बढी लोकप्रिय भयो । बालबालिकालाई केन्द्रविन्दुमा राखेर अमिर खानको निर्देशनमा बनेको तारे जमीं पर निकै चर्चित भयो । यस सिनेमामा अमिर खान र बालकलाकार दर्शिल जफारीले शिक्षक र विद्यार्थीको रोचक अभिनय गरेका छन् ।
भारतमै जस्तै नेपालमा पनि बाल सिनेमा नबनेका होइनन् । नेपाली भाषामा बनेका बाल सिनेमाले खासै बजार पाउन सकेन । तैपनि चलचित्र अभिनेता एवं निर्देशक विश्व बस्नेतले ‘अपहरण’ नामक सिनेमा बनाए । यो सिनेमा व्यावसायिक रूपमा सफल नभएपछि यसको नाम परिवर्तन गरेर ‘एकादेशमा’ राखिएको थियो । यसपछि यस सिनेमाले सामान्य व्यापार वृद्धि गर्यो । अपहरणबाहेक नेपालीमा स्कुल, पाठशाला, होमवर्क जस्ता बाल सिनेमा बनेका छन् तर नेपाल टेलिभिजनका लागि युनिसेफको सहयोगमा बनेको टेलिचलचित्र उजेली अहिलेसम्मकै उत्कृष्ट चलचित्र मानिन्छ । उजेली जस्तै बालमनोविज्ञानमा केन्द्रित कन्यादान, साइनो, रहर यस हिसाबमा उत्कृष्ट सिनेमा मान्न सकिन्छ । अझै पनि नेपाली सिनेमा क्षेत्रमा अब्बल र चर्चित बाल सिनेमा बन्न बाँकी छ ।