• २६ पुस २०८१, शुक्रबार

ट्युसनले विद्यार्थी नियमित विद्यालय जान थाले

blog

दलित बालबालिकालाई ट्युसन पढाउँदै शिक्षक योगेन्द्र मण्डल । तस्बिर : जीवछ यादव

लहान समाचारदाता

लहान, भदौ २५ गते । लहान–१ का दलित चमार (राम) समुदायका बालबालिकालाई ट्युसन पढाउन थालेपछि विद्यार्थी नियमित विद्यालय जान थालेका छन् । 

लहानको मुख्य चोक जाने सडकको पूर्वी किनारमा रहेको एक पक्की भवनको बरन्डामा बिहान ७ बजेदेखि राम समुदायका २० जना बालबालिका हरेक दिन ट्युसन पढिरहेका हुन्छन् । विगत एक वर्षदेखि ट्युसन पढ्न थालेपछि उनीहरू विद्यालयमा नियमित हुन हौसिएका छन् । अक्षर चिन्ने, हिसाब गर्ने, किताब पढ्न सक्ने भएपछि विद्यार्थी र अभिभावकमा विद्यालय जान/पठाउन उत्साह र रुचि बढेको ट्युसन शिक्षक योगेन्द्र मण्डलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ट्युसन पढ्न थालेपछि बालबालिकाको सिकाइ र पढाइमा सुधार देखिन थालेको छ ।” मण्डल विगत २० वर्षदेखि विभिन्न चार ठाउँमा दलित तथा गरिब परिवारका बालबालिकालाई ट्युसन पढाएर मासिक १५ हजार रुपियाँ आम्दानी गर्ने गरेको बताउनुहुन्छ । 

उहाँका अनुसार बोर्डिङ स्कुलका विद्यार्थीबाट प्रतिविद्यार्थी एक हजार रुपियाँ र गरिब परिवारका बालबालिकाबाट न्यूनतम एक सयदेखि अढाई सय रुपियाँ मात्र ट्युसन शुल्क लिने गरेको बताउनुहुन्छ । दलित अधिकारकर्मी तथा समाजसेवी नेनीलाल राम चमार समुदायका बालबालिका घरमा पढ्न र नियमित विद्यालय पठाउन ट्युसन कक्षाले सहयोग गरेको बताउनुहुन्छ । 

लहान नगरपालिकाको २४ वटै वडामा करिब २० हजार दलित समुदायका बालबालिका भए पनि एसइईमा सबैभन्दा कम उत्तीर्ण  हुने गरेको अभियानकर्मी मोहन पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, “लहानमा मुसहर, चमार, दुसाध, तत्मा डुम र हलखोर दलित समुदायको बसोबास रहे पनि चमार र दुसाध (पासवान) समुदायको शिक्षाप्रति चेतना बढेको छ ।  मुसहर समुदायमा शिक्षाप्रतिको चेतनास्तर अझै कम छ ।”

योगेन्द्रले थोरै शुल्कमा ट्युसन पढाएर दलित बालबालिकालाई पढाइप्रति रुचि जगाउनुभएको  छ । यसलाई निरन्तरता दिन वडा कार्यालय, लहान नगरपालिका शिक्षा शाखाले हरेक दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्न आवश्यक देखिएको छ ।

मुसहर समुदायका स्कुल जानुपर्ने बालबालिका अहिले पनि कबाडी सङ्कलक, निर्माण क्षेत्रका मजदुर र होटेलमा बाल मजदुर भएर काम गरिरहेको प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँले प्रदेश सभामा पटक पटक मुसहर समुदायका बालबालिकालाई शिक्षा दिन आवासीय विद्यालय सञ्चालनमा ल्याउनुपर्ने आवाज उठाउँदै आइरहेको दाबी पनि गर्नुभयो । 

शिक्षा शाखाका संयोजकसमेत रहेका नगरप्रमुख महेशप्रसाद चौधरी भन्नुहुन्छ, “लहान नगरपालिकाको सामुदायिक विद्यालय सुधारका लागि यस आर्थिक वर्षमा समेत आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छु । विद्यालयको भौतिक र शैक्षिक सुधारमा नगरपालिकाले काम गरिरहेको छ । दलित बालबालिकालाई नियमित विद्यालय जान  ट्युसन कक्षा पनि चलाइयो । यसको आवश्यकता अझै रहेकाले थप कक्षा सञ्चालन गर्न गृहकार्यमा छु ।”