• ११ पुस २०८१, बिहिबार

द्वन्द्वकालको प्रेमकथा लिएर ‘खुश्मा’

blog

कास्की समाचारदाता

कास्की, भदौ २५ गते । रुकुमको मगर सुमदायको कथावस्तुमा बनाइएको चलचित्र ‘खुश्मा’ असोज पहिलो हप्ताबाट प्रदर्शनमा लैजाने तयारी भएको छ । चलचित्रका निर्देशक अशोक थापामगरका अनुसार चलचित्र निर्माणमा निकै मेहनत गरिएको छ । वृत्तचित्र निर्माण गर्दै आएका थापाको यो पहिलो कथानक चलचित्र हो ।

चलचित्र प्रवर्धनको युनिट पोखरा आइपुगेको छ । चलचित्रमा मुख्य भूमिकामा रहेका उपसनासिंह ठकुरी र धीरज मगरले चलचित्रबाट आफूहरू निकै आशावादी रहेको बताउनुभयो । पुनमगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको छ । रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौँमा झन्डै ४५ दिन लगाएर चलचित्र खिचिएको जनाइएको छ । चलचित्रमा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापामगरलगायत कलाकारको अभिनय रहेको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन निर्देशक थापाको हो । चलचित्रको ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ नम्बर एकमा छ । यसअघि नै सार्वजनिक गीत ‘खुसीका फूलहरू’ टिकटकमा निकै रुचाइएको छ ।