• २६ पुस २०८१, शुक्रबार

बेनीघाट–आरुघाट–लार्के भन्ज्याङ सडक दुई महिनादेखि अवरुद्ध

blog

दुई महिनादेखि अवरुद्ध उत्तरी गोरखाको धार्चे गाउँपालिकाको बेनीघाट–आरुघाट–लार्के भन्ज्याङ सडकखण्ड । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, भदौ २४ गते । 
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको बेनीघाट–आरुघाट–लार्के भन्ज्याङ सडकखण्ड दुई महिनादेखि अवरुद्ध भएको छ । धार्चे गाउँपालिका–७ स्थित न्याउली खोलाभन्दा पाँच सय मिटर दक्षिण तर्फको पहरा फुटाई नयाँ ट्रयाकसहित बाटो निर्माण गर्नुपर्ने भएकाले दुई महिनासम्म सडक बाटो अवरुद्ध हुने पुगेको गोरखा सडक योजना कार्यालय गोरखाको इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।   

उहाँका अनुसार गोरखा सडक योजना कार्यलयको सङ्घीय बजेटअन्तर्गतको ९४ लाख ५२ हजार रुपियाँमा सुसन निर्माण सेवाले उक्त सडकखण्डमा चट्टानसहितको ठुलो पहिरो फुटाउनुपर्ने भएकाले उक्त ठाउँमा सडक भासिएपछि कडा चट्टान फोडेर नयाँ ट्याक खोल्नुपर्ने भएकाले पनि धेरै समयमै सडक सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो ।   

२०८० साल चैत ६ गते सुसन निर्माण सेवा र गोरखा सडक योजनाबिच २०८१ साल असार मसान्तसम्म निर्माण सम्पन्न हुने पर्ने सडक निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद सकिँदा समेत जम्मा १७ प्रतिशत काम सम्पन्न गरेको सडक योजना कार्यालय गोरखाले जनाएको छ ।

उक्त ठाउँमा ठुलो पहिरो गएर हालसम्म दुई महिनादेखि सडक अवरुद्ध छ, इन्जियिर श्रेष्ठले भन्नुभयो, “ढलान गरी ग्याबिन वाल लगाउने काम सुरु भएकाले सडकभन्दा माथि कडा चट्टानका कारण एक्स्काभेटर प्रयोग गरी बोक्ररले फुटाउन समय लाग्ने भएकाले पनि केही समय ढिला भएको छ ।”

निर्माण कम्पनीले एक पटकको म्याद थपका लागि निवेदन दिएको छ । उत्तरी गोरखाका आम नागरिकलाई सडक अवरुद्ध भएपछि निकै सास्ती ब्याहोर्नु परेकाले धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङसहितको टोलीले गोरखा सडक योजना कार्यालय गोरखा र जिल्ला प्रशासन कार्यालय गोरखामा सडक खुलाउन पहल गरिदिन आग्रह गरेका थिए । 

त्यसलगत्तै गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालसहितको टोलीले अनुगमन गरी निर्माण व्यवसायीलाई तत्काल सडक खुलाई उत्तरी गोरखावासीलाई आवतजावतमा सहज बनाउन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको गोरखा सडक योजना कार्यालय गोरखाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालसहितको टोली र निर्माण व्यवसायी बिच भएको छलफलमा निर्माण व्यवसायीले आउने २९ गते शनिबारसम्म अवरुद्ध सडक खुलाई सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको सडक योजना कार्यालय गोरखाले जनाएको छ ।